पर्सा, १० चैत  । पेट्रोलियम पाइपलाइनका लागि अमलेखजन्ज-रक्सौल-मोतिहारी खण्डमा दुई किलोमिटर पाइप ओछ्याइएको छ।मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइप लाइन जडानको काम सुरु हो।

पथलैयादेखि सिमरा पारीसम्म करिब २ किमि पाइप वेल्डिङ गर्ने काम सकिएको छ। हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्ग निर्माणसँगै पाइप सडकमुनि ओछ्याइएको छ,’ पौडेलले भने,‘‘पाइप जमिनमुनि अढाई मिटर तल हालिएको छ।’

पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ। अमलेखगन्जस्थित आयल निगम डिपोमो ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ। भारत फरिदाबादको मोतिप्रभा इन्फ्राटेक प्रालिले टंयाकी स्तरोन्नतिको काम गरिरहेको पौडेलले जानकारी दिए।

‘डिपोका ४ वटा ट्यांकीकै स्तरोन्नति जारी छ। पाइपलाइनबाट भारतबाट आउने इन्धन त्यही ओभरहेड ट्यांकीमा भण्डारण हुन्छ,’ उनले भने, ‘३ हजार ९ सय किलोलिटर (केएल) क्षमताको २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदैछ, जसमा १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ।’

इन्डियन आयल कर्पोरेशनको लगानीमा संञ्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै छ।

मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव ७ सय र रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु छ।

पाइपलाइन ओछ्याउने मार्गअन्तर्गत वीरगन्ज महानगरको बाइपास सडकको अवरोध र बारामा पर्सा निकुञ्जको क्षेत्रका रूख काट्न बाँकी रहेको पौडेलले बताए। परियोजनामा नेपालतर्फ ओछ्याइने ३१ किमिभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ। पाइपलाइनमा कालो रंगको स्टिलको पाइप प्रयोग गरिँदैछ। भारत महाराष्ट्रको सिमलेश लिमिटेडले पाइप उत्पादन गरेको छ।

पाइपलाइन निर्माण भएपछि मुलुककै सर्वाधिक इन्धन आयात हुने वीरगन्ज नाकामा भन्सार क्षेत्रमा लाग्ने जाम र भीडभाड कम हुनेछ। त्रिभुवन राजपथको वीरगन्ज-पथलैया-अमलेखगन्ज सडक खण्डमा पनि ट्यांकरको चाप घटने छ। कान्तिपुर दैनिकले खबर छापेको छ ।

तपाईको प्रतिक्रिया