- सुखिलाल चौधरी

उदयपुर । उदयपुरमा कार्यरत सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले सरकारी सवारी साधनको दुरुपयोग गरेको पाईएको छ । उदयपुरमा शनिबार विहान विना पासका ८ वटा सरकारी कार्यालयका सवारी साधन ट्राफिक प्रहरी उदयपुरले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएका सवारी साधनहरु घर जान, आफन्त भेटघाट, घुमघाम, गाडी सर्भिसिङ्ग, अनुगमन तथा फिल्डको काम भन्दै सरकारी सवारी साधनको दुरुपयोग भएको पाईएको थियो । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका ८ मध्ये पाँच सवारी साधनलाई शनिबार पनि जिल्ला प्रशासन कार्यालय उदयपुरले पास दिएर उन्मुक्ति दिएका छन् । जब कि शनिबार कुनै पनि सरकारी कार्यालय सर्वसाधारणको लागि नखुलेपनि केही कर्मचारीलाई पास दिलाउन भने सार्वजनिक विदाको दिन पनि खुलेका थिए । जिल्ला प्रशासन कार्यालय उदयपुरले सरकारी छापको दुरुपयोग गर्दै पक्राउ परेका सवारी साधनलाई पास उपलब्ध गराएका थिए ।

ट्राफिक प्रहरीले जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियारलाई लिन जाँदा बा १ झ ७२५९ नम्बरको गाडी, जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत दुनियालाल यादव सवार स.१ ब ५५९ नम्बरको मोटर साइकल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका शाखा अधिकृत गोविन्द प्याकुरेल सवार बा. ४ प ३३२७ नम्बरको मोटर साइकल, जिल्ला कृषि विकासका प्राविधिक सहायक नाथुराम चौधरी सवार स. १ ब ६१८ नम्बर मोटर साइकललाई शनिबार नियन्त्रणमा लिएका थिए ।

यस्तै जिल्ला अदालतका नायव सुब्बा शान्ता बस्नेत सवार बा.२ ब ३६०९ नम्बरको मोटर साइकल, सडक विभागका प्राविधिक सहायक महेश कुमार पासवान सवार स.१ ब ६४० नम्बरको मोटर साइकल समेतलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । बारा पोखरी गाउँपालिका खोटाङ कार्यालयका सवारी साधन शिक्षक अशोक कुमार मण्डल सवार स.१ ब ६४४ नम्बरको मोटर साइकल र दुधौली नगरपालिका–११ वडा कार्यालयका कुमार लामा सवार स.१ ब ७९४ नम्बरको मोटर साइकल नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।

जिसस, जनस्वास्थ्य, खानेपानी र कृषि कार्यालयको सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबार कै मिति राखेर पास उपलब्ध गराएका थिए । जव कि शनिवार अर्थात विदाको दिन कुनै पनि सरकारी छाप तथा चिठी पत्र लेख्ने गरिँदैन् । तर, प्रशासन कार्यालय उदयपुरले सरकारी छाप र कागजको दुरुपयोग गरेको देखिन्छ । यस्तै पास उपलब्ध गराएका जिल्ला कृषि विकास कार्यालयको स. १ ब ६१८ नम्बरको मोटर साइकललाई जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा पास उपलब्ध गराएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्कासंग कुराकानी गर्दा एक कार्यालयको सवारी साधनमा अर्को कार्यालयको नाम राखेर नदिइएको बताए । उनका अनुसार पहिलो दिन भएकोले गणतव्यसम्म पुग्न शनिबार पास उपलब्ध गराएको स्वीकार गराएको र अवको दिनमा यस्तो नहुने बताए ।

यो त एउटा उदाहरण मात्रै हो । अहिले उदयपुरमा सरकारी कर्मचारी तथा उच्च सरकारी अधिकारीहरुका लागि सरकारी स्रोत साधन दुरुपयोग गर्ने अखडा बन्दै गएको छ । पछिल्लो समय अधिकांश सरकारी सवारी साधन शनिवार र सार्वजनिक विदामा पनि अरु दिनजस्तै निर्विवाद रुपमा दौडिरहेका भेटिन्छन् । सेतो नम्बर प्लेटका चार पाङ्ग्रे भन्दा पनि मोटरसाइकलको दुरुपयोग बढी भेटिएको ट्राफिक प्रहरीले बताएको छ । अहिले गाउँपालिका, नगरपालिकाका मोटरसाइकल रहेको र ती अधिकांश मोटरसाइकल स्थानीय तहका सचिवहरुले कार्यालय भन्दा पनि आफ्नो निजी प्रयोजनाका लागि प्रयोग गरिरहेको पाइएको छ ।

‘कार्यालय खुल्ने समयमा मात्रै नभई शनिवार र अधिकांश सार्वजनिक विदाका समयमा पनि सरकारी मोटरसाइकल लिएर कर्मचारीहरु खुलेआम हिँडेका भेटिन्छन, अधिकांशसँग लाइसेन्स पनि हुँदैन, मोटरसाईकल समातेर राख्दा प्रशासनबाट पास लिएर आउँछन,’ जिल्ला ट्राफिक प्रमुख लोक बहादुर दियालीले भने । उनका अनुसार कतै जानु पर्यो भने पास लिएर सवारी साधन चलाएको भए भै हाल्ने तर हामी सरकारी कर्मचारीहरु विच द्वन्द्व बढाउने मात्र काम भैरहेको छ । एक ट्राफिक प्रहरीले भने– ‘सार्वजनिक विदाको दिन तालिम, अनुगमन जानु पर्ने त पहिले नै रुटिन बनेको हुन्छ, सवारी साधन नै चाहिने भएपछि कार्यालय खुलेकै दिन सवारी पास लिँदा भैहाथ्यो नी ? हामी रोक्दैन थियो त । तर, सिडियो कार्यालयले शनिबार पनि सवारी पास उपलब्ध गराएको छ ।’

तपाईको प्रतिक्रिया