students bbcकाठमाडौं , २७ मंसिर। यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने सबैले ०७३ सालमा उच्च माध्यमिक विद्यालयहरूमा भर्ना हुन पाउने भएका छन् । यस वर्षदेखि उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी एसएलसीको मूल्यांकन अक्षरांकन पद्धतिमा हुने भएपछि सबैले उमाविमा भर्ना पाउने भएका हुन् ।

कम अंक ल्याए रोजेको पढ्न नपाउने

सबैले प्लस टुमा भर्ना पाउने भए पनि कमजोर नतिजा ल्याउनेले रोजेको ‘स्ट्रिम’मा जान भने पाउने छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायण कोइरालाले भर्ना हुन कसैलाई नरोक्ने, तर भर्नाका लागि आधार तय गरिने बताए । परिषद्ले पाठ्यक्रम, पाठ्यपुस्तकलगायत विषयमा अध्ययन गर्न शिक्षाविद् प्रा. मनप्रसाद वाग्ले, प्रा. वासुदेव काफ्लेसहित चारजनाको प्राविधिक कमिटी बनाएको छ । कमिटीले प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा निर्णय गरिने सदस्यसचिव कोइरालाले बताएका छन् ।

एसएलसीमा कमजोर नतिजा भएकालाई सफ्ट स्किलका कार्यक्रममा भर्ना हुने व्यवस्था गर्ने तयारी हुँदै छ । त्यस्ता विद्यार्थीलाई होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजमजस्ता क्षेत्रमा अध्ययनका लागि बाटो खुला गर्न सकिने कोइरालाको भनाइ छ । कोइरालाले भने, ‘कक्षा ११ र १२ मा कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउने भन्ने विषयमा पुस मसान्तसम्ममा आधार निर्धारण गर्छौँ ।’ विज्ञानलगायतका ‘स्ट्रिम’ विषय पढ्नका लागि इन्ट्रान्सलगायतको व्यवस्था हुने उनको भनाइ छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया