- अमर काफ्ले

इनरुवा चैत्र १३/यतिवेला संचालनमा रहेको माध्यमिक शिक्षा परीक्षा एसईई अन्र्तगत आजसम्म ४ विषयको परीक्षा सकिएको छ । सुनसरीमा विगतका वर्षहरुको तुलनामा यस पटकको परीक्षा मर्यादित पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले परीक्षा शैली विगतको तुलनामा क्रमश सुधारोन्मूख रहेको जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले एसईई संचालनमा रहेका जिल्लाका ४७ वटै परीक्षा केन्द्रमा शान्तिपूर्ण र मर्यादित किसिमले परीक्षा संचालनमा रहेको बताउनुभयो । यद्यपी सुवेदीले एकाद ठाउँका परीक्षा केन्द्र भित्र केही अर्मयादित कृयाकलाप पाइएकाले सच्याएर अघि बढ्न निर्देशन समेत दिइएको जानकारी गराउनुभयो ।

आजको परीक्षा सकिदा सम्मको अवस्थामा सुनसरीबाट १ सह केन्द्राध्यक्ष सहित ३ जना कार्वाहीमा परेका छन् । भगवती मावि इनरुवा परीक्षा केन्द्रका सह केन्द्राध्यक्ष विनोद कार्कीलाई अनुगमन टोलीले परीक्षाको मर्यादा विपरित कार्य गरेको पाइएको भन्दै निष्काशन गरेको छ । त्यसैगरी कृष्ण मावि कप्तानगञ्ज परीक्षा केन्द्रमा निरिक्षकका रुपमा रहेका शम्भु साह र नेरा मावि अमाहिवेल्हाका जयराम चौधरी समेत कार्वाहीमा परेका छन् ।

जिल्ला शिक्षा कार्यालय सुनसरीले अहिले सम्म कुनैपनि विद्यार्थी रेष्टिकेटमा नपरेको जनाएको छ । सुनसरीबाट ५ दृष्टिविहिन, झुम्का कारागारमा रहेका २ कैदी वन्दी सहित १२ हजार ५ सय ९३ परिक्षार्थी एसईईमा सहभागि छन् । जिल्लाभर अनुपस्थित परिक्षार्थीको संख्या भने २ सय १८ जना रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया