सिन्धुपाल्चोक, १५ चैत । कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन्। गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे।

तर, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन्। शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस भएका हुन्।

बलेफी गाउँपालिका-१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए। लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ । दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

परीक्षा प्रभावित
विद्यार्थी बेहोस भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ । अभिभावकले बोर्डिङ प्रशासन र गाँजा खुवाउने शिक्षकको चर्को विरोध गरेका छन् ।

विद्यार्थीलाई गाँजा खुवाएर गलत कार्य गरेको भन्दै तीन शिक्षकलाई जलवीरे प्रहरीले पक्राउ गरेको छ। शिक्षक सुरज बुढाथोकी, रोशन कार्की र समन राना मगरलाई प्रहरीले पक्रेको हो। बुढाथोकी भक्तपुर, कार्की रामेछाप र रानामगर महोत्तरीका हुन्।

शिक्षकत्रयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खरेलले बताए । शिक्षक गाँजाले लठ्ठेकै अवस्थामा विद्यार्थीलाई पढाउने गरेको अभिभावकत्रय कुश थापा, चिनलाल सुनार र दीपक थापाले बताए । घटना लुकाउन बोर्डिङ स्कुलका फाउन्डर दिनेश खड्का, राम खड्का र राजु श्रेष्ठले बेहोस विद्यार्थीलाई विद्यालयबाट बाहिर निस्कन दिएका थिएनन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया