ललितपुर, १९ चैत । विवादास्पद ‘फास्ट ट्र्याक’ निर्माण आन्दोलनमा सहभागी हुन विश्वका १६ मुलुकमा बस्ने नेवार समुदायका प्रतिनिधि खोकनाको सिकालीमा आइतबार जम्मा भएका छन् । विश्व नेवाः संगठनमा आबद्ध नेवार समुदायका अभियन्ताहरू आन्दोलनमा ऐक्यबद्धता जनाउन यहाँ आइपुगेका हुन् ।

आन्दोलनमा सहभागिता जनाउन यूएन र आईएलओमा कार्यरत स्थानीय नेवार समुदायका व्यक्तिसमेत आएका छन् । खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले विश्वका १६ मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायका प्रतिनिधि सिकालीमा जम्मा भएको बताए ।

फास्ट ट्र्याकका कारण वातावरणीय प्रभाव, सांस्कृतिक सम्पदा एवं जनजीवनमा गम्भीर प्रभाव पर्ने भन्दै स्थानीय बासिन्दा आन्दोलित छन् । उनीहरूले दीर्घकालीन असर पार्ने खालको निर्णय नगर्न सरकारसँग आग्रहसमेत गरेका छन् । ‘यस आन्दोलनमा आईएलओ तथा यूएनमा काम गर्ने नेवार समुदायका साथीहरू समर्थनका लागि आएका छन्,’ डंगोलले भने ।

खोकना जनसरोकार समिति तथा खोकना सांस्कृतिक पुनर्जागरण समितिको संयुक्त आयोजनामा विरोध कार्यक्रम भइरहेको छ । यता, नेपाली सेनाले फास्ट ट्र्याकका लागि अस्थायी क्याम्प खडा गरेर बसेको छ । डंगोलका अनुसार खोकनाको सात हजार रोपनी जग्गामध्ये पाँच हजार रोपनी ‘फास्ट ट्र्याक’ मा पर्ने देखिएको छ ।

ललितपुर महानगरपालिका २१ वडा नम्बरका अध्यक्ष रवीन्द्र महर्जनले भने स्थानीयका मर्कामा सेना सकारात्मक देखिएको बताए । यस विषयमा स्थानीयसँग छलफल गरेर प्रस्ताव ल्याउन सेनाले आग्रह गरेको जानकारी दिए । उनले भने, ‘यस विषयमा मन्त्रिपरिषद्बाटै छलफल हुने भएको भन्दै सरकारसमक्ष प्रस्ताव पु-याउने आश्वासन दिइएको छ ।

स्थानीयलाई मार पर्ने कुनै निर्णय सेनाबाट नहुने वचन आएको छ’, सेनाले फास्ट ट्र्याक सुरु गर्नुअघि यहाँका सांस्कृतिक क्षेत्रलाई संरक्षण गर्ने, वातावरणीय प्रभाव मूल्यांकन, मुआब्जाजस्ता विषयको टुंगो लगाउनुपर्ने माग स्थानीयको छ । विवादका विषयमा स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सोमबार छलफल हुने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया