१९ चैत्र, इनरुवा। हिजो दिउँसोको आगलागीमा घरबार गुमाएका सुनसरीको कोशी गाउँपालिका–६ को यादव बस्तीका १५ परिवारको बिचल्ली भएको छ। गहुँ थ्रेसर गर्ने क्रममा सल्केको आगोले देब किसुन यादव सहित, सञ्जय , उमेश , रामकिशुन, जगदीश, पुरन यादव सहित नारायण बडबडिया , कृष्णलाल बनेबार सहितको घर जलेको थियो ।

आगलागी पश्चात जायजेथा गुमाएका अग्नि पीडितलाई विभिन्न संघ संस्थाले राहत उपलब्ध गराउन थालेपनि पर्याप्त हुन सकेको छैन्।बालबालिका, महिला तथा वृद्धवृद्धा समस्यामा देखिएका छन् । लत्ताकपडा, खानेकुरा र सुरक्षित बसोबासको अभाव जस्ता समस्यासँग पीडितहरुले जुध्नु परेको छ ।

स्थानीय सरकारी निकायबाट राहत स्वरुप आवश्यक स्रोतसाधनको उपलब्धता गराउने भनिएपनि नपाएको पीडितहरुको गुनासो छ। सीमावर्ति गाउँ भएकाले भारतीय दमकल सहित इनरुवा र इटहरीबाट पुगेका दमकलले सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । बाक्लो वस्ती र फुसका बढी घर रहेको भन्दै स्थानीयहरुले हावाहुरीको समय भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखी गाउँपालिकाले दमकल खरिद गर्नु आवश्यकता औल्याएका छन् ।

तपाईको प्रतिक्रिया