काठमाडौं, २१ चैत । गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी रकम नेपाली कांग्रेसले खर्च गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचनमा विभिन्न १० शीर्षकमा भएको खर्च रकमको विवरण पेस गर्न ५ चैतसम्मको समय दिएकोमा सबैभन्दा बढी खर्च नेपाली कांग्रेसले गरेको देखिएको हो। कांग्रेसपछि दोस्रोमा नेकपा एमालेले गरेको छ। सबैभन्दा कम खर्च गर्ने दल नेपाल दर्शन पार्टी रहेको छ।

एमालेले ५ चैतको समयसीमा नघाएर सोमबार मात्र खर्च विवरण आयोगमा पेस गरेको थियो। आयोगको कानुन शाखाका अधिकृत घमचन्द्र तिमल्सिनाले एमालेले सोमबार खर्च विवरण बुझाएको जानकारी दिए।

आयोगमा दलहरूले बुझाएको विवरणअनुसार कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ ११० जना उम्मेदवार उठाएकोमा २ करोड ५ लाख ८३ हजार ४९६ रुपैयाँ खर्चको विवरण पेस गरेको छ।

यसैगरी, एमालेले १०९ जना उम्मेदवार उठाउँदा १ करोड ७७ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ। नेकपा माओवादी केन्द्रले ११० जना उम्मेदवार उठाउँदा ३४ लाख १९ हजार ८७५ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ।

यस्तै, विवेकशील साझा पार्टीले २४ उम्मेदवार उठाएकोमा ११ लाख २१ हजार ३६३ रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ भने नयाँ शक्ति पार्टी नेपालले १०६ जना उम्मेदवारका लागि ३७ लाख ७५ हजार खर्च गरेको विवरण बुझाएको छ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६२ लाख रुपैयाँ खर्च गरेको छ भने नेपा राष्ट्रिय पार्टीले ६ लाख ९८ हजार ६४० रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ।

नेपाल मजदुर किसान पार्टीले भने ८ लाख १६ हजार ९२० रुपैयाँ, राष्ट्रिय जनमोर्चाले ८ लाख २४ हजार ४३ रुपैयाँ, राप्रपाले ३२ लाख ९८ हजार, राप्रपा प्रजातान्त्रिकले १ करोड १ लाख ४० हजार र नेपाल दर्शन पार्टीले १ लाख ४५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरिएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया