इनरुवा २१/इनरुवा बजार क्षेत्रको सडक विस्तारको प्रशंगसँग जोडिएर भिन्नाभिन्नै मापदण्डको विषय सार्वजनिक भएपछि इनरुवा नगर कार्यपालिकाले बैठकको निर्णय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी नगर प्रवक्ता कालुराम गुरुङले कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

गुरुङले न्यूनतम मापदण्ड ६० फिट कायम राखी सखुवागाछीदेखि भूमिसुधार कार्यालय सम्मको सडक विस्तार सहितको निर्माण कार्य अघि बढाउन लागिएको प्रष्ट्याएका छन् । प्रवक्ता गुरुङले स्थानीय संचारमाध्यममा आएको फरक मापदण्डको विषयले नगरवासीमा अन्यौलता सीर्जना गराएकाले पत्रकार सम्मेलन गरी नगरवासीमा कार्यपालिकाको निर्णय सहितको यथार्थता सार्वजनिक गरिएको बताए ।

बजार क्षेत्रको सडक विस्तारको मापदण्डको विषयलाई लिएर इनरुवाबाट प्रकाशित हुने बर्णमाला दैनिक र प्रतिक्षण दैनिकको समाचार फरक पर्न गएको थियो । प्रतिक्षण दैनिकले इनरुवा सडक विस्तारको मापदण्ड ५२ फिट कायम हुने सम्भावना भन्ने शिर्षकको समाचार प्रकाशित गर्दा र वर्णमाला दैनिकले भने सखुवागाछी देखि भूमिसुधार सम्म ६० फिट कायम शिर्षकको समाचार प्रकाशित गरेका थियो ।

पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य सहित वडाध्यक्ष र स्वयं नगर प्रमुख राजन मेहता समेतको उपस्थिती रहेको थियो । नगर प्रमुख मेहताले कार्यपालिकाको निर्णय विधि प्रकृया अनुसार प्रवक्ता मार्फत सार्वजनिक गरिने हुँदा प्रवक्ता मार्फत आएको सूचनानै आधिकारिक हुने बताए । इनरुवा १ का वडाध्यक्ष रामचन्द्र पोद्दारले समेत बजार क्षेत्रको सडक तत्काल ६० फिटमै विस्तारको चरणमा अघि बढ्ने बताए ।कार्यपालिकाले दिएको जानकारी अनुसार बजार क्षेत्रको सडक विस्तारको कार्य बिहिबारबाटै सुरु गरिने भएको छ ।

तपाईको प्रतिक्रिया