काठमाडौं, २६ चैत । मधेसी दलभित्र विवाद हुनु ठूलो कुरा होइन तर अचेल एकले अर्कोलाई छिर्के हानेर राजपाभित्र भने समस्या सुरु भएको छ । राजपाले आन्तरिक झगडा नमिलाउदा संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन ।

राजपाभित्र हुन त दुई धार छ सरकारमा जाने बारेमा पनि । त्यही धारका आधारमा आन्तरिक प्रतिस्पर्धा बढेपछि नेता चयनमा समस्या परेको स्रोत बताउँछ । २०७५ साल ८ गते बैशाख राजपाले राजनीतिक समिति बैठकसमेत बोलाएको छ । त्यस बैठकपछि मात्रै नेता चयन हुनेछन् ।

अहिले संसदीय दलको नेताका लागि मुख्यतः तीनजना नेताले इच्छा देखाएको स्रोत बताउँछ । पार्टीको अध्यक्षको हैसियतमा महन्थ ठाकुर दाबेदार देखिएका छन् । खासमा मौनजस्तो देखिने तर संसदीय दलको नेता हुन पाए हुने भन्दै आफू नभएसम्म नेता नछान्ने जस्तो मुडमा देखिएको एक सांसदले बताए ।

त्यसैले ठाकुरले आन्तरिक छलफल पनि चलाएका छैनन् । स्रोत भन्छ, सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा सकारात्मक देखिएका ठाकुर अरु दाबेदारलाई मन्त्रीमा पठाएर आफू नेता हुन खोजेका पनि थिए ।

तर, अर्का दाबेदार महेन्द्र राय यादवले पहिला संशोधन अनि सरकार भनेर संसदमा बोलिदिएपछि ठाकुर पछाडि हटे । स्रोत भन्छ, यादवले खासमा त्यस्तो बोल्नुमा उनी मन्त्री हुने संभावना नभएपछि हो । संसदीय दलको नेता ठाकुर भएको भए त्यसबेला नै राजेन्द्र महतो र शरदसिंह भण्डारी मन्त्री हुने निश्चित थियो ।

अनिल झाकी श्रीमती डिम्पल झालाई प्रदेश २ को सरकारमा राज्यमन्त्री बनाएर उनको चित्त बुझाउने तयारीमा थिए । अहिले संसदीय दलको नेताका लागि तीन जना दौडमा छन् ।

जसमा महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव । तर, ठाकुर र महतोबीच प्रतिस्पर्धा भइरहेकाले यादव अहिले पछाडि हटिसकेको स्रोत बताउँछ । महतो सांगठिनक रुपमा बलियो मानिन्छन् । अहिले १७ जना प्रतिनिधि सभाका सदस्यमध्ये कम्तीमा १० जना त महतोको पक्षमा रहेको दाबी छ ।

त्यसले गर्दा निर्वाचन भएको अवस्थामा स्वतः महतोल जित्नेछन् । तर, ठाकुर निर्वाचन नगरी आफ्नो पक्षमा निर्विरोध गरिदिए हुने थियो भन्नेमा छन् । अध्यक्षलाई बलियो बनाउन आफैं संसदीय दलको नेता हुनुको विकल्प नभएको ठाकुरको तर्क छ ।

दुई वटा पावर सेन्टर बनाउँदा पार्टी कमजोर हुने तर्कका साथ आफू संसदीय दलको नेता हुनुपर्ने ठाकुरको भनाइ छ । राजपाका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारी ठाकुरको पक्षमा खुलेका छन् । अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झाले महतोलाई साथ दिएका छन् ।

दलको नेताको चुनाव गराउने पक्षमा महतो छन् भने ठाकुर चुनाव नगराई अध्यक्षलाई सर्वसम्मत नेता बनाउनुपर्ने पक्षमा छन् । चुनाव भए महतोले जित्ने भएकाले पनि ठाकुर सहमतिका आधारमा नेता चयन गर्ने पक्षमा छन् । राजपाका एक नेताका अनुसार, सोही कारण दलको नेता चयनमा ठाकुरले चासो दिएका छैनन् ।

फोरममा पनि त्यस्तै
सरकारमा जान ठिक्क परेको संघीय समाजवादी फोरम पनि आन्तरिक लफडाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायत चयन गर्न सकेको छैन । हुन त फोरमको विधानमा संसदीय दलको नेताले अरु नियुक्त गर्ने व्यवस्था छ । दलको नेता पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भइसकेका छन् ।

खासमा मन्त्रीमा सेट नभएका तर आकांक्षी नेताहरुलाई ती पदमा सेट गर्ने यादवको सोच रहेको बताइन्छ । सकारमा जाने अवस्थामा उपेन्द्र यादव स्वयम्को नेतृत्वमा सरकारमा जाने तयारी छ । दुई मन्त्री र एक राज्यमन्त्री पाउने फोरमबाट यादवपछि राजेन्द्र श्रेष्ठ वा रेणु यादवमध्ये एक जना मन्त्री हुनेछन् ।

यादवले पहाडिया समुदायलाई समेटेर जानुपर्छ भन्ने तर्क गरेर श्रेष्ठलाई अगाडि सारेका छन् । तर, महासचिव रामसहाय यादवसहितको एउटा टोली पहाडिया मुलकालाई पठाउन नहुने तर्क गरेर विवाद निकालेका छन् । खासमा यही विवाद टुंगो नलाग्दा सरकारमा सहभागिता ढिला भएको छ ।

महासचिव यादवको टोलीले सिधै पहाडिया मुलको हुँदैन भनेर विरोध गर्नेभन्दा पनि समानुपातिकबाट निर्वाचितलाई सरकारमा पठाउन नहुने तर्क गरेका छन् । त्यो अवस्थामा श्रेष्ठसहित रेणु पनि बाहिरिनेछिन् । अध्यक्ष यादव राज्यमन्त्रीमा भने वीरगञ्जका प्रदीप यादवलाई लैजाने सोचमा रहेको बताइन्छ ।

दुई सीटमा दश नेता दाबी
माओवादी केन्द्रका केही समान हैसियतका नेताहरुका कारण एकीकृत पार्टीको स्थायी समितिको संख्यामै प्रश्न उठेको छ । एकीकृत पार्टीको स्थायी समिति ३३ सदस्यीय हुने भनेर सांगठनिक कार्यदलले टुंगो लगाएको छ ।

त्यो अवस्थामा माओवादीका समान हैसियतका नेताहरु अग्नि सापकोटा, पम्फा भुसाल, उर्मिला अर्याल, जनार्दन शर्मा शक्ति बस्नेत, हितराज पाण्डे, मणि थापा, राम कार्की, गणेश साह, मातृका यादव, लेखराज भट्टलगायतका नेताहरुको हैसियत के हुने भन्ने प्रश्न उठेको छ ।

३३ सदस्यीय स्थायी समिति बनेको अवस्थामा केन्द्रबाट जम्माजम्मी ११ जना पर्नेछन् किनभने २२ जना एमालेका अहिले नै छन् । माओवादीका ११ जनामध्येमा पनि अहिले नै स्थायी समितिमा पर्नेहरको सूचीमा माओवादीका पूर्व पदाधिकारी नै छन् ।

ती पूर्व पदाधिकारीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा बादल, बादलभन्दा पहिलेका महासचिव कृष्णबहादुर महरा, सचिवहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल कोषाध्यक्ष हरिबोल गजुरेल स्वतः स्थायी समितिमा पर्नेछन् ।

त्यसमध्ये महरा सभामुख भएकोले पार्टीको जिम्मेवारीमा रहने छैनन् । तर महराको कोटाबाट एकतामा आएका नेकपा संयुक्तका गणेश साहलाई समेटिने चर्चा छ । त्यसरी हेर्दा अध्यक्ष प्रचण्डसहित ९ जना समेटिनेछन् भने बाँकी दुई जनामा को को पर्ने भन्ने लडाई अहिले माओवादीमा  छ ।

त्यही दुई जनाको कोटामा अहिले दस जना माओवादी नेताहरु प्रतिस्पर्धामा छन् । त्यसमध्ये जनार्दन शर्मालाई केपी ओली र प्रचण्ड दुवैको साथ रहेकाले उनी स्थायी समितिमा पर्ने संभावना छ । बाँकी रहेको एक सीटमा प्रवक्ता र महिला भएको हैसियतमा पम्फा भुसालको नाम पनि चर्चामा छ, साँघुमा उल्लेख छ ।

अरु ८ जना नेता पनि स्थायी समितिमा पर्नुपर्ने दाबी गरिरहेका छन् । यही समस्याका कारण पनि प्रचण्ड बराबरी हैसियतमा पार्टी एकताको नारा दिइरहेको माओवादी केन्द्रका नेताहरुको भनाइ छ ।न्युजअभियानको सहयोगमा

तपाईको प्रतिक्रिया