काठमाडौं, २१  वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् ।माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् ।

‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायतका विषयमा सहमति जुटिसकेको र अब केन्द्रीय समितिको संख्याका विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराउनुभयो’, बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले भने ।

बिहीबार आफूले ओलीसँग वार्ता गर्ने र केन्द्रीय समितिको संख्यालगायतमा सहमति जुट्न बाँकी विषयलाई अन्तिम रूप दिने प्रचण्डको भनाइ थियो । दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

प्रचण्डको भनाइ उल्लेख गर्दै नेता गणेश शाहले सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताए । ‘पार्टी एकता भएपछि एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन,’ शाहले भने, ‘सम्मानजनक न्यायोचित र समानताका आधारमा एकता हुन्छ ।’ एकताका लागि धेरै विषय मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए ।

‘पार्टी एकताको मिति छिट्टै घोषणा हुँदै छ ।’प्रचण्डको भनाइ उल्लेख गर्दै शाहले भने, ‘म केन्द्रीय समितिमा परिनँ, म पोलिटब्युरोमा परिनँ, म स्थायी कमिटीमा परिनँ भनेर दुखेसो नगर्नुहोला । एकता गरेर समाजवादी क्रान्ति गर्नुपर्ने भएकाले केही विषयमा कम्प्रोमाइज गर्नु पनि पर्छ ।’नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया