बेसीसहर । लमजुङमा जलविद्युत् आयोजना निर्माण धमाधम अघि बढाएर उत्पादनको तयारी भइरहँदा घरघरमा पु‍र्‍याउन प्रसारण लाइन निर्माणको काम भने सुस्त छ । मर्स्याङ्दी, दोर्दी, मिदिम, ङादी र रुदी खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

यी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण गर्नुपर्ने प्रसारण लाइन भने अहिलेसम्म सुरु भएको छैन । दोर्दी गाउँपालिकाको ढोडेनी कीर्तिपुरदेखि उदीपुर सबस्टेसनसम्म १४ किलोमिटर प्रसारण लाइन नबन्दा सबै निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा छन् ।

दोर्दी करिडोरमा निर्माणाधीन चारमध्ये दुई आयोजना यही वर्षको हिउँदमा निर्माण भइसक्नेछन् । तर प्रसारण लाइन निर्माणका लागि भने बल्ल टेन्डर आह्वान गरिएको छ । ‘बल्ल प्राधिकरणले प्रसारण लाइन बनाउन सुरसार गरेको छ । समयमै काम सकिनेमा शंका छ’, लिबर्टी इनर्जी पावर कम्पनीका सञ्चालक राजेन्द्र वस्ती भन्छन्, ‘यही हिउँदमा विद्युत् उत्पादन गर्ने तयारीमा छौं । त्यस बेलासम्म प्रसारण लाइन नबन्ने चिन्ता छ ।’ समयमै प्रसारण लाइन निर्माण गर्न आफूहरूले पनि सघाइरहेको उनले जानकारी दिए ।

लिबर्टीले निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ ०७५ मंसिरमा सक्ने लक्ष्य छ । दोर्दीमै २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना तीव्र गतिमा निर्माण भइरहेको छ । हिमालयन पावर पार्टनरले निर्माण गरिरहेको आयोजना २०७४ असारभित्र सक्ने लक्ष्य भए पनि भूकम्प र नाकाबन्दीले अवधि लम्बिएको हो । आयोजना यही हिउँदमा सकिनेछ । आयोजनामा गैरआवासीय नेपालीको कम्पनी एनआरएन इन्भेस्टमेन्ट लिमिटेडले ५१ र आईएमई ग्रुपको ४९ प्रतिशत संस्थापक लगानी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया