- अमर काफ्ले

वृद्ध अवस्थामा घरपरिवारबाटै अपहेलित हुनुपर्ने तितो यथार्थलाई मनन गर्दै इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र उत्कृष्ट बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले आफ्ना सासु ससुराको स्याहार सहित सम्मान र माया गर्ने बुहारीको खोजी गरी सम्मान गर्ने छ ।

उत्कृष्ट बुहारीको खोजकालागि नगरभित्रका १० वटै वडामा छनौट समिति गठन गरिने छ । प्रत्येक वडाबाट दुईजनाका दरले नगरस्तरीय प्रतिष्पर्धाकालागि छानिने २० जना असल बुहारी मध्ये उत्कृष्ट दुईलाई सम्मान गरिने छ । इनरुवा नगरपालिका नगर प्रमुख राजन मेहताले उत्कृष्ट हुने बुहारीले सुनको सिक्रि दिने विषयमा छलफल प्रकृया अघि बढाइएको बताए ।

वृद्धवृद्धाको सम्मानकालागि त्यस किसिमको कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको विश्वास छ । सन्तानबाट टाढिनु र अपहेलित भई वृद्धाश्रमको बास बस्नु पर्ने बाध्यता मुक्त नगरको परिकल्पना अनुरुप बुहारी सम्मान कार्यक्रम गर्न लागिएको नगर प्रमुख राजन मेहताले बताए ।

उत्कृष्ट बुहारी हुनकालागि भने सम्वन्धित बुहारीका सासु ससुराको मञ्जुरी अनिवार्य हुने छ । पुरस्कार हात परेपछि सासु ससुराको बेवास्ता गरेको पाइए दिइएको पुरस्कार फिर्ता लिइने र सो परिवारकालागि नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा सुविधामा कटौति गरिने नगर प्रमुख मेहताले बताए ।

तपाईको प्रतिक्रिया