DSC01942इटहरी, १ पुस । आठजनाको ज्यान जाने गरी सोमबार सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित न्यू जय नेपाल इँटाभट्टामा भएको विस्फोट सञ्चालक विनोद अग्रवालको गम्भीर लापरबाहीका कारण भएको खुल्न आएको छ । वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएको भट्टाको चिम्नी सामान्य मर्मत गरी सञ्चालनमा ल्याएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको स्थानीय प्रशासनले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भूकम्पले क्षति भएको भट्टा प्राविधिकको अनुसन्धानबिना र स्थानीय प्रशासनको अनुमतिबेगर सञ्चालन गरेको बताए । उनले जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सबै इँटाभट्टा सञ्चालनमा रोक लगाएको जानकारी दिए ।

भूकम्पपश्चात् स्थानीय प्रशासनले समेत जिल्लाका इँटा भट्टाको नियमित निरीक्षण र अनुगमन नगरेपछि सञ्चालकरूले मनोमानी ढंगले इँटाभट्टा सञ्चालन गरेका छन् । घटनापश्चात् भट्टा सञ्चालक अग्रवाल फरार छन् । सोमबार इँटाभट्टामा पूजाआजा गरी आगो सल्काउना साथ इँटाभट्टाको चिम्नी विस्फोट भएर भट्टामा काम गर्ने आठजना मजदुरको मृत्यु भएको थियो । अाजकाे अन्नपूर्ण पोस्ट्मा समाचार रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया