bijaya-shrma

पुस २, स्विजरल्याण्ड । सबै लाइ अबगत भएकै कुरा हो , आफ्नो भोगाई र अरुको देखाईमा अलि भिन्नता हुदों रैछ । मान्छेहरु दुख लुकाएर भएपनि हास्न सिपालु हुदैछन ।

जसले जति राम्रो देखायो, अरुलाई जति जलाउन सक्यो , त्यति ठुलो मान्छे । सायद यी सोसियल मिडियाहरुको बढ्दो प्रयोगले बढाउंदै गएको भिन्नता हो भन्ने मलाई लागि रहेको छ ।

स्विजरल्याण्ड आएको झन्डै ४ बर्ष हुन लाग्यो । समग्रमा हेर्दा चित्रमा हासेंको र अक्षरमा रोएको बर्षमा नै बिति राख्यो । अझ स्पष्ट भन्दा हाँसो फेसबुकको प्रोफाइल पिक्चरमा सिमित रहयो ।

मान्छे को गुण नै यस्तै हो , अझ भन्नु पर्दा नेपालीको गुण फोटोमा रुन लाज लाग्ने तर शब्दहरुमा रुदाँ आनन्द आउने । मैले पनि त्यसै गरें ।

फोटोमा कहिले रुन मन लागेन । सधै हांसी राखें । तर मन मा भएका पिर मर्का संधै मन मा नै गुन्द्रुक खाजे जस्तै बाहिर हाँसी राखे । आफ्नो आँशु लुकाउन सिकें ।

देखे जस्तो छैन संसार, को नै खुशी छ र यो संसारमा ? खुशीको कारणहरुको कमी हुनु नै त दुख हो । दुख नै सत्य हो । त्यहीं नै वास्तविकता हो । मेरा शब्दहरुमा पनि दुनियाको सामु मान्छे जति शक्तिशाली भएर उभिए पनि भित्र देखि कति कमजोर र निरिह हुन्छ भन्ने कुराको पुष्टि थियो ।

सायद शब्दहरुमा रुंदा र दुखेसो पोख्दा हृदय निचोरेर धोए जस्तो हल्का र सफा हुने भएर पनि होला म सधै रोएँ । पलपल रोएँ, कति रोएँ कति रोएँ लेखा जोखा छैन । बताउन पनि सक्दिन । चाहे पनि बताउदिन नेपाली को छोरा हुँ मन भित्र नै गुम्साएर राख्न सजिलै सक्छु ।

म अहिले आफैले मेरो परदेशी बर्ष हेर्दै छु । नजिक बाट नियाल्दै छु , खेस्रा कोर्दै छु , उपलब्धि कोट्टाउदै छु । के फरक पाएँ त मैले यो बर्षमा ।

म त्यहि नै हो बिजय थिए बिजय नै छु परिबर्तन भाको छैन । त्यस्तै नै हो जस्तो आएको थिए म स्विजरल्याण्ड । दुइचार वाक्य बढी फ्रेन्च भाषा सिके हुँला ।

दुइचार वाक्य बढी अंग्रेजी भाषा सिके हुँला । दुइचार जना साथी फेरिए होलान । दुइ चर घण्टा बढी काम गरे हुँला । दुइचार पैसा बढी कमाए हुँला र खर्च गरें हुँला । अरु केहि परिवर्तन छैन ।

सायद मेरो अपरिपक्कता होला या मैले धेरै आशा राखेको थिएँ । सत्य कुरा बोल्नु पर्दा १-२ जना बाहेक स्विजरल्याण्ड मा खासै आशा राख्ने जस्ता नेपाली मान्छे भेटेको पनि छैन , भेट्ने पनि छैन ।

जस्तो सुकै होस् कोहि कसैलाई व्यक्तिगत आक्षेप लगाउन खोजेको पनि होइन । समस्या जहाँ पनि छन, प्रकृति मात्र फरक हो भन्नु मेरो उद्देश्य हो ।

मान्छेको बानी त्यस्तै नै हो । जहाँ गएपनि उसको प्रकृति त्यहीं नै हो । उसको वरिपरीको वातावरण र प्रयोग गर्ने प्रबिधि फरक हुदैंमा मान्छेको सोचमा त्यति धेरै फरक आउदो रैन्छ भन्ने मैले बुझें ।

धेरै जसो मान्छे परिवर्तनको तुलना वाह्य कुराहरुलाई लिएर गर्छन, तर म मेरो आन्तरिक परिवर्तन हेर्दै छु । म मेरो हृदय र भित्रि मनलाई केलाउदै छु । सच्चि, मैले केहि परिवर्तन देखिन ।

यति मात्र सुन्न पाए मलाई हावा भन्न पनि पछि परेनन् । यो मेरो बानी नै हो भन्नु पर्दा मैले धेरै थरि का शीर्षक मा सिर्जना गर्नु पर्ने हुने हुदा पनि मेरो मुख बाट धेरै हावा शब्द निक्लन्थे ।
यहाँ मैले कुनै ठुलो सपना देखिन । देख्दै देखिन । सपना देख्ने पनि फुर्सद मिलेन । केहि गर्ने कुरा पनि भेटिन । सोच्ने बिषय पनि भेटिन । के नभएर नै हो? सायद अरुले जे भेट्छन मेरो मनले त्यो देखेन ।

पार्टी, क्लब, बार, पब नै रैछ यहाँको रामझम । त्यसमा मैले मेसो नै पाइन् । के म गलत ठाउँमा आएँ ? त्यो पनि सोचिन । राम्रो नराम्रो केहि सोच्ने आँट नै गरिन । तटस्थ रहें ।

बिकसित देशमा समय सापेक्षिक रुपले छिटो दौडन्छ भन्ने सुनेको थिएँ । तर मलाइ यो ३ बर्ष मैले बिताएको आधा जीवन जस्तो लाग्यो । धेरै कुरा एकै पटक भएर हो कि ? खै मैले त्यति धेरै केहि सोचिन ।

समय नै हेरिन । लेखा जोखा नै गरिन । म घडी भएँ । आफ्नै रफ्तारमा हिडीरहें, कहाँ पुगे हेक्का राखिन ।

बिजय शर्मा दर्पण । हाल, स्विजरल्याण्ड

साभार: साझासवालबाट

 

तपाईको प्रतिक्रिया