apang

अमर काफ्ले इनरुवा पुष २ /
अपाङ्गता भएका विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालय सुनसरीले उपलब्ध गराएको रकम सम्वन्धित विद्यालयका प्रअले हिनामिना गरेको खुलेको हो ।
अभिभावकले रकम नपाएको भनि उजुरी गरेपछि प्रअको गलत नियत सार्वजनिक हुन पुगेको हो । सुनसरीको इनरुवा ६ स्थित रहेको ज्ञानोदय निमाविमा अध्ययरत एक छात्रले आफुले पाउनुपर्ने छात्रवृति रकम लामो समय सम्म नपाएको सार्वजनिक भएसँगै प्रअको मनोमानीको पोल खुलेको हो । दुई कक्षामा अध्ययनरत अपाङ्गता भएका छात्र करण मण्डलले आफुले पाउनु पर्ने छात्रवृति वापतको रकम प्रअको गैरजिम्मेवारीपनका कारण पाउन नसकेका हुन् । अपाङ्गताको किसिमका आधारमा उपलब्ध गराइदै आएको छात्रवृति करणले दुई शैक्षिक सत्र सम्म पाएनन् ।हिंडडुल गर्न नसक्ने करण आमा तथा परिवारका अन्य सदस्यको सहारामा विद्यालय पुग्थे । पारिवारिक अवस्था कमजोर भएको करणले परिवारलाई सामान्य सहयोगले मात्रै पनि सानोतिनो गर्जो टार्न मद्दत पुग्ने देखिन्छ । तर उनको परिवारले छोरोले पाउनुपर्ने रकमका बारेमा थाहै नपाउँदा प्रअले आर्थिक प्रलोभनमा छात्रवृति वापतको रकम हिनामिना गरेको भेटिएको हो ।
अझ प्रअ बुधसागर मेहताले, जिल्ला शिक्षा कार्यालयबाट रकम त आयो तर किन र केका लागि हो भन्ने नै पत्तो नपाएको भनि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए ।
अपाङ्गता छात्रवृति भन्ने थाहा नै रहेनछ प्रअ मेहतालाई । उनले हांसिहाँसि आफुलाई सो बारे जानकारी नै नभएको स्पष्टोक्ति दिए ।
उक्त विद्यालयमा अध्ययरत अधिकांश विद्यार्थी निम्म वर्र्गीय समूदायका छन् ।दुई शैक्षिक सत्र सम्म करणको नामको छात्रवृति वापतको १० हजार रकम प्रअले कुम्ल्याएको स्वयं अभिभावले पत्तो पाएपछि भने सम्वन्धित निकायमा उजुरी गरेका थिए ।
जिल्ला शिक्षा कार्यालय सुनसरीले समेत प्रअले रकम हिनामिना गरेको प्रमाणित भएको जनाएको छ । शिक्षा कार्यालयका शम्भु पोखरेलका अनुसार प्रअले थाहा हुँदाहुँदै पनि रकम सम्वन्धित परिवारलाई उपलब्ध नगराएको बताए । रकम हिनामिना गरेको प्रमाणित हुँदा समेत जिल्ला शिक्षा कार्यालय सुनसरीले सम्वन्धित प्रअलाई कुनै किसिमको कार्वाही भने गरेको देखिएन् ।उता स्थानीयतहमा अपाङ्गता भएका लगायतका सवालमा काम गर्दै आएको संकल्प सीबीआरका कार्यक्रम संयोजक लखनलाल साहले निकै लामो पहल पश्चात प्रअबाट छात्रवृति वापतको रकम फिर्ता गराउन सफल भएको बताए । करणका नामको शैक्षिक सत्र ०६९।७० को रकम दुई वर्षपछि स्थानीय सरोकारवाला संस्थाको खोजिनीतिसँगै प्रअले हिनामिना गरेको खुलाषा हुन पुगेको हो ।

तपाईको प्रतिक्रिया