rajendra-mahato-at-bhithamod-naka-640x450

जलेश्वर, २३ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनको नागरिकताको प्रतिलिपि पत्रीकामा छाप्न आग्रह गरेका छन् । शनिबार महोत्तरीमा पत्रकारहरुसँग कुरा गर्दै महतोले आफूमाथि अंगिकृत नागरिकता लिएको र त्यही भएर अंगिकृत नागरिकले संबैधानिक पद पाउनुपर्ने माग गर्दै आएको आरोप लाग्ने गरेका कारण आफ्नो नागरिकताको प्रतिलिपि पत्रीकामै छाप्न आग्रह गरेका हुन् ।

शनिबार महोत्तरीको भिठामोड नाकामा धर्ना बस्न पुगेका महतोले आफूसँग वंशज नागरिकता रहेको जनाउँदै कसैलाई विश्वास नलागे पत्रीकामा छापिदिन पत्रकारहरुसँग आग्रह गरे ।

उनले नेपाली जनताको मुख्य दुईवटा पीडा भएको र दुबैको समाधान सरकारसँग रहेको बताए । महतोले यदि मधेशीलाई नेपाली मानिन्छ भने नेपाली भएर पनि उसको हक र अधिकार नदिनु पहिलो पीडा भएको जिकिर गरे । ती हक अधिकार प्राप्तीका लागि विगत दुई महिनादेखि मधेशमा जारी आन्दोलनले मधेश लगायत देशकै जनताले अर्को पीडा भोगिरहेको उनको कथन थियो । उनले सरकारले नेपाली जनताको पीडा बुझेर पनि आफ्नै स्वार्थसिद्धीमा लागेको आरोप लगाएका छन् । सरकार सत्ताको खेलमा लागेर जनतालाई बेवास्ता गरिरहेको बताउँदै महतोले हक र अधिकार प्राप्त नभएसम्म जनता लडिरहने र आन्दोलन गरिरहने चेतावनी दिए ।

सरकारले वार्ता केवल ढोंगको लागि गर्न खोजेको आरोप लगाउँदै महतोले तेस्रो आन्दोलन नै अन्तिम लडाई हुने र मधेशीले अधिकार नपाएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन् ।

साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया