Minister-Umesh-Yadav

३ पुस, इटहरी । सिँचाइमन्त्री उमेश यादवले आम किसानको खेतमा सिँचाइका लागि नहरबाट पानी पुर्‍याउन सप्तकोसी नदीको चतरामा ब्यारेज निर्माण जरुरी भएको बताएका छन् । मन्त्री यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाको अवलोकन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
सप्तकोसी नदीबाट सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिराखेको छ ।
सुनसरी र मोरङ जिल्लाको कृषि भूमिमात्र होइन अब उदयपुर, सप्तरी र सिरहामा सिँचाइका लागि नहर निर्माण गर्न पनि ब्यारेज बनाउनै पर्ने बाध्यात्मक अवस्था आएको उनको भनाइ छ ।
चतरा पुल बनाउने क्रममा कफर ड्याम नहटाएका कारण कोसी नदी पश्चिमी भाग भएर गहिरिँदै बगेर सुनसरी मोरङ सिँचाइ आयोजनाको नयाँ इन्टेक क्षेत्रमा पानी चढ्न असम्भव भएकाले पानी चढाउन ब्यारेज जरुरी भएको हो ।
मन्त्री यादवले यसको चाँडै सम्भाव्यता अध्ययन पूरा गर्न विभागलाई निर्देशनसमेत दिए ।
सुनसरी मोरङ सिँचाइ आयोजनाका परियोजना प्रवन्धक शिशिर कोइरालाका अनुसार दुबै जिल्लाको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा दिने यो नहरमा कोसीको पानी नचढ्ने भएपछि कुनै पनि हालतमा राज्यले ब्यारेज बनाउनुपर्छ ।

तपाईको प्रतिक्रिया