chamalकाठमाडौं , ३ पुस । पुसको कठ्यांग्रिँदो चिसोमा खानासमेत नपाएर भूकम्पपीडित बिचल्लीमा परेका बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको छ । बंगलादेश सरकारले भूकम्पपीडितका लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको हो ।

गत जेठमा नेपाल आएर खाद्य संस्थानको विभिन्न गोदाममा थन्किएको सो चामल अहिले आएर बेच्ने तयारी अघि बढाइएको छ । बंलगादेशले पठाएको राहतको चामल संस्थानको थापाथली, लहान र बिर्तामोड गोदाममा विगत आठ महिनादेखि थन्काएर राखिएको छ । खाद्य संस्थानका प्रवक्ता एवं वितरण विभाग प्रमुख श्रीमणिराज खनालले राहतमा आएको चामलका लागि स्थानीय प्रशासनबाट माग नै नआएकाले बेच्न लागिएको जानकारी दिए ।

‘बंगलादेश सरकारले गत जेठमा पठाएको ७८ हजार क्विन्टल चामल कतैबाट माग नआएकाले गोदाममै राखिएको छ,’ खनालले भने, ‘लामो समयसम्म राख्दा बिग्रने र गुणस्तरमा ह्रास आउन सक्ने भएकाले मन्त्रालयको निर्देशनमा बेच्न लागेका छौं ।’ भूकम्प प्रभावित जिल्लाबाट खाद्यान्नको माग नआएकाले बेच्न लागिएको उनको भनाइ रहेको छ ।

संस्थानले स्थानीय प्रशासनबाट खाद्यान्नको माग नआएर भूकम्पपीडितका लागि आएको चामल बेच्न परिरहेको बताइरहेका बेला भूकम्प प्रभावित जिल्ला रसुवाका स्थानीयवासीले भने राज्यबाट पर्याप्त राहत नआएको गुनासो गरेका छन् । राम्चे–७ का दावा मेन्द्रो तामाङले भूकम्पले घरबारविहीन भई छाप्रोमा बसिरहेका बेला राज्यबाट १५ हजार रुपैयाँबाहेक अन्य राहत प्राप्त गर्न नसकेको बताए ।

‘खानेकुरा नभएर छाक टार्नसमेत मुस्किल पर्न थालिसक्यो, खोइ सरकार आएकै छैन,’ उनले भने, ‘घर भत्किएरपछि छाप्रोमा बास त छ तर गाँसको टुंगो छैन ।’ राम्चे–९ की विनीता घलेले पनि विभिन्न संघ/संस्थाले दिएको खाद्यन्न सकिसकेकाले भोकभोकै बस्नुपर्ने अवस्था आएको बताइन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया