Gaur-Tanab

वीरगञ्ज र रौतहटमा दिनभर तनाव

पुस ४/

आन्दोलनरत मधेसी मोर्चाको बन्द र प्रहरीसँगको झडपका कारण शनिबार दिनभरि वीरगञ्ज र रौतहटमा तनाव भएको छ। मधेसी मोर्चाले हिजोमात्रै ११ दिने आन्दोलनका थप कार्यक्रम घोषणा गरेपछि आज यी जिल्लामा मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि तनाव सुरु भएको स्थानीय प्रशासनले जनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार वीरगञ्जको घण्टाघर र माइस्थान चोकमा दिनभरि मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। आन्दोलनकारीले प्रहरीमाथि गुलेलीमा राखेर ढुंगा र पेट्रोल बम प्रहार गरेका छन्। घटनामा तीन जना प्रहरी घाइते भएका छन्। त्यसमध्ये १ जनाको टाउकोमा चोट लागेको घिमिरेले जानकारी दिए। भीडलाई नियन्त्रणमा लिन प्रहरी एक सेल अश्रुग्यास प्रहार गरेको थियो। रात पर्न लागेपछि आन्दोलनकारी कम हुँदै गएको घिमिरेले बताए।
उता रौतहटको क्रान्ति चौकमा सरकारी गाडीपनि चल्न नदिने भनेर अवरोध गरिरहेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउन खोज्दा झडप भएको छ। रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले दिएको जानकारी अनुसार भीडलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ। ‘आन्दोलनकारीले सरकारी गाडी चल्न नदिने भनेका थिए, त्यहाँ नजिकै आगलागी भएकाले दमकल जान खोज्यो, तर उनीहरुले ढुंगामुढा थाले र दमकलमै आगो लगाइदिए‘ सुवेदीले भने ‘घटनामा संलग्नलाई पक्रेपछि सरकारी कार्यालयमा तोडफोड भयो।‘ उनले घटनामा १२ जना प्रहरी घाइते भएको तर आन्दोलनकारीतर्फका घाइतेको विवरण आउन नसकेको बताए। आन्दोलनकारीले गरेको ढुंगामुढाका कारण रौतहटका सरकारी कार्यालयका सिसा फुटेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया