chekपुष ९ । सरकारले भूकम्पपीडित परिवारलाई न्यानो कपडा खरिद गर्न निकासा गरेको रकम पीडित परिवारसम्म पुग्न सकेको छैन । गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई २४ मंसिरमा ५० करोड रुपैयाँ खर्चको अख्तियारी पठाए पनि रकम जिविसबाट नगरपालिका र गाविस हुँदै पीडित परिवारसम्म पुग्न समय लाग्ने देखिएको छ ।

सरकारले मंसिरभित्रै पीडितको हातमा रकम पुर्‍याउने दाबी गरे पनि अझै समय लाग्ने निश्चित भएको हो । डिडिआरसीले जिविसको नाममा ५० करोड रुपैयाँको चेक पठाएको छ । तर, अझै प्रक्रिया अघि बढ्न सकेको छैन । चेक जिविसमै थन्किएको छ ।

स्थानीय विकास अधिकारी सीता परियारले दोलखामा भूकम्पपीडित परिवार संख्या अस्वाभाविक रूपमा वृद्धि भएकाले रकम वितरण गर्दा ५० करोड रुपैयाँ अपुग हुने बताइन् । उनले पीडित परिवारको तथ्यांकले अन्योल सिर्जना गरेकाले निश्चित मापदण्ड बनाएपछि मात्रै डिडिआरसीले रकम वितरण प्रक्रिया अघि बढाउने जानकारी दिइन् ।

पहिलो चरणमा ७५ हजार पाँच सय ५६ घरधुरीलाई १५ हजारका दरले राहत रकम वितरण गरिएको थियो । सोही अनुपातमा १० हजारका दरले रकम वितरण गरिए ७५ करोड ५५ लाख ६० हजार रुपैयाँ आवश्यक पर्छ । दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने न्यानो कपडा खरिदका लागि जिविसमा रकम निकासा गरिसकेकाले चाँडै वितरण सुरु हुने बताए । प्रजिअ लामिछानेले जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले तत्काल १० हजार रुपैयाँ वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको र रकम अपुग भए गृहमा माग गरी पठाउने निर्णय भएको जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया