woman-bathing

कृष्णराज सर्वहारी

सोह्र पार गरी सत्रमा टेकेकी छे कमलरी सन्तोली । बेलाबेला मालिकको गिद्धेदृष्टि उसको शरीरमा पर्छ। कमलरी सन्तोली बिहानको भाँडा मस्काई टिलिक्क टल्काएर आँगनको तख्तामा सुकाइरहेकी थिई। मालिकले अह्राए—

‘ए सन्तोली, एक अम्खोरा पानी ल्या त।’

‘हस् मालिक्वा’ भन्दै बिजुलीको गतिमा अम्खोराको पानी मालिकको हातमा थमाई।

मालिक एकटक टोलाएर सन्तोलीलाई हेरिरहेका थिए। अन्जानझैं बनेर हातमा अम्खोरा लिएझैं गरी उनले सन्तोलीको हात पो समाते।

उता बाथरूममा नुहाउन मालिक्नी पसेकी थिइन्। मालिक अर्थात् उनका श्रीमान् बिहानको खाना खाईवरी कुर्सीमा उपरखुट्टी लगाएर पत्रिका पढिरहेका थिए। मालिक्नी अर्थात् श्रीमती बाथरूममा नुहाउन गएको उनलाई पत्तो थिएन। उता मालिक्नी नुहाईवरी बाथरूममा कपडा फेरिरहेकी थिइन्। अनायास सानो झ्यालको खट्प्वालबाट उनले त्यो दृष्य देखिन् र बेस्गरी ख्वाक्क खकारेर घाँटी सफा गरिन्। सन्तोली मालिकलाई अम्खोरा थमाई दौड्दै घरभित्र पसी। मालिक प्यास नलागेको पानी खाँदै घाँटी किक्लिक–किक्लिक पार्न थाले।

मालिक्नी बाथरूममा महिनावारी भएको रगत लतपतिएको पेटिकोट ओल्टाइपल्टाई गर्न थालिन्। बाहिरको दृष्यले उनलाई पेटीकोट धुन मन पनि लागेन। उनलाई आज के भइरहेको हो, आफैलाई बुझ्न गाह्रो भो। आजसम्म आफ्नो हाते रुमाल त धोएकी छैनन् भने पेटीकोट के धोलिन् र? उनले बाथरूमको ढोका बजारिन् र ठूलो स्वरमा कराइन्, ‘ए सन्तोली, ल बाथरूमको सबै लुगा चाँडै धोएर सुकाइदे त।’

‘हस् मल्किन्या’ भन्दै सन्तोली बाथरूमभित्र पसी। बाथरूमभित्रको ऐना हेर्दै, मुस्कुराउँदै, थारू भाषामा सानो स्वरले गीत गाउँदै ऊ मालिक्नीको पेटीकोट, फरिया धुन थाली।

मालिक्नी बाथरूमबाट ननिस्किँदै सायद मालिक मालिक्नीसँग आँखा जुधाउन साहस नगरेर घरबाहिर निस्किसकेका थिए। मालिक्नी छतमा कपाल सुकाउँदै घाम ताप्न थालिन्। उनका आँखा केके सोच्दै लोलाउन थाल्छन्।

मेरै आँखाअगाडि यस्तो आँखमिचौली छ भने झन् म नभएको बेला के गर्दा हुन् युवराजका बाले? उनले सन्तोलीको भन्दा दोष आफ्नै श्रीमानको देखिन्। जवान कमलरीलाई काम गराउन घरमा राखेकोमा आफ्नै दोष पनि देखिन्। बरु आफै भाँडा माझूँला, आफैँ लुगा धोऊँला, यो सन्तोलीलाई त आजैभोलि उसको घर पठाइदिनुपर्ने भो। जानीजानी सौता भित्र्‍याउन सकिन्न। यस्तै कुरा मनमा खेलाउँदै छतको न्यानो घाममा उनी कतिखेर निदाइछन्, पत्तो पाइनन्। एकैपल्ट तब ब्युँझिन्, जब कमलरी सन्तोलीले भनी, ‘मल्किन्या चिया अन्लुँ।’

भातभान्सा सकेर सुत्ने तर्खर गर्दै गर्दा मालिक्नीले मालिकलाई भनिछन्, ‘हजुरसँग एउटा जरुरी सल्लाह गर्नु थियो।’

मालिकले भने, ‘के हो, भन न त।’

‘यो सन्तोलीलाई फिर्ता पठाइदिऊँ उसका घर।’

‘हैन, के भन्छे यो?’ मालिक ट्वाल्ल परे।

‘हो, ठिक भन्दैछुँ, जुग जवाना ठिक छैन। अस्ति कुनचाहिँ संस्थाका मान्छेले कमलरी राख्न पाइँदैन भनेर हल्ला गर्दै थिए।’

तैंले भन्या त ठिकै हो, तर काम गर्ने कुनै केटो भए पनि त पाइनुपर्‍यो। कमलरी केटी पो राख्न पाइँदैन भन्छन्, कमलर केटा त होइन नि। तँ एक्लैले चुल्होचौका कसरी धान्छेस्, लौ भन त?’

मालिक्नीलाई मालिकको कुरा एक मनले ठिकै लाग्यो तर बिहानको दृश्यले माथिंगल चलिरहेको थियो कि कसरी जवान कमलरीलाई घरबाट धपाउने।

केही महिनापछि सहरमा पढ्ने मालिकको छोरो युवराज गाउँको घरमा आइपुग्यो। युवराजले यसपालि कमलरी सन्तोलीलाई विषेश देख्यो। सहरका पाउडर घसेका नखरमाउलीहरूका अगाडि विनाकुनै फेसन सन्तोलीलाई अंगुरको रसझंै देख्यो, एक निमेषमा खाऊँखाऊँ लाग्ने। युवराजको दिनचर्या नै बन्यो दिनभरि सन्तोली केके गर्छे, काम गर्दै गर्दा उसको हाउभाउ कस्तो हुन्छ? उसका शरीरका अवयवहरू कस्तो क्रिया–प्रतिक्रिया गर्छन्? ती सबै नियाल्दै गर्दा उसलाई सहरका मैयाँहरू मैनका पुतलीझैं लागे। घरमा काम गर्ने सन्तोली मात्र विनाकुनै शृंगार जिउँदोजाग्दो चलचित्रकी नायिकाझैं लाग्यो।

सन्तोली भातभान्सा सिध्याएर बेलुकी जरुवामा नुहाउन जान्छे भन्ने पनि पत्तो लगायो युवराजले। बेलुकाको घरमा चुल्होचौका पोतेर, सबै कामधन्दा सकेर कमलरी सन्तोली जरुवामा आज पनि नुहाउन हिँडी। उसको मालिकको घरनजिकै खोला किनारमा ठूलो जरुवा थियो। पूर्णिमाको टहटह जुनले उसलाई साथ दिइरहेको थियो। त्यसो त औंसीको रातमा पनि ऊ त्यो जरुवामा आउन डराउन्नथी। मालिकको घरमा बाथरूम त थियो तर कमलरी सन्तोलीलाई त्यहाँ नुहाउन प्रतिबन्ध थियो। त्यसैले, जरुवाको दिनचर्या उसको एक नियमित तालिकाझैं भएको थियो। एक दिन चाल मारेर सन्तोलीको पछिपछि लाग्यो युवराज। जरुवाको छेवैमा बरको बडेमानको रूख थियो। त्यसैको आडमा लुकेर युवराजले सन्तोलीको नुहाई क्रियाकलाप लुकीलुकी हेर्न थाल्यो।

सन्तोलीलाई भने आज के मुड चल्यो कुन्नि। अंगका सबै लुगा एकसे एक फुकाल्न थाली। अब उसको शरीरमा लुगाको नाउँमा एक धर्को धागो पनि थिएन। ऊ जरुवाको पानीमा अम्खोरा उघाउँदै आङमा पानी खन्याउन थाली, छाती मिच्न थाली। आफ्नो रूप हेरी आफै दंग पर्न थाली।

यता रूखको आडमा लुकीलुकी हेरिरहेको युवराजको बेहाल थियो। उसले यस्तो दृश्य साथीहरूसँग निला चलचित्र हेर्दामात्रै देखेको थियो। उसको छाती रेलको इन्जिनझैं ढकढकाइरहेको थियो। सन्तोली मन लागुन्जेल जरुवाको पानीसँग खेली, आफ्नै शरीरसँग खेली। कतिखेर नुहाईवरी आफ्ना जिउमा लुगा बेरी, एक झिमिक पनि नपारी युवराज लाटोझैं हेरेको हेर्‍यै भयो।

सन्तोली जरुवाबाट हराएको निकै बेरपछि युवराज आफ्नो कोठातिर पाइला चाल्यो। कोठामा पुगेर उसले आफूलाई आफंैले धिक्कार्‍यो। जरुवामा सर्वांग नांगो भएको बेला नै उसले सन्तोलीलाई किन झम्टिन सकेन? यही सोचले उसका जिउमा काँडा उमि्रए। उसलाई ज्वरो आउला जस्तो भयो। निद्रा परेन। बिहान साँच्चिकै उसलाई निस्लोट ज्वरो आइरहेको थियो। सन्तोलीको शरीर कसरी भोग्ने भनेर युवराजले तानाबाना बुन्न थाल्यो। यो सामान्य ज्वरो होइन, कामज्वरो हो, सन्तोलीको शरीर भोगेपछि मात्र सबै ठिक हुन्छ भन्ने शतप्रतिशत उचित ठहर्‍यायो उसले।

र, आज पनि सन्तोली जरुवामा नुहाउन हिँडेकी थिई। साता दिनदेखि बिछ्यैनामा थलिएको युवराज पनि पछि लाग्यो, यही कसम खाएर कि आज सन्तोलीको शरीर भोगेरै छाड्छु। युवराजको हिँडाइ ढिलो हो कि, सन्तोलीको नुहाइ छिटो हो। रूखको आड लिएर चियाउँदा सन्तोली नुहाईवरी लँहगाको तुना बाँध्दै थिई। युवराजलाई लाग्यो ऊ नुहाउनलाई लहँगाको तुना खोल्दै छे। तर सन्तोली हिँड्ने तर्खर गर्न थालेपछि उसको सोचाइ भंग भयो। युवराजले समय खेर फाल्न चाहेन। ऊ फुत्त बरको रुखको आडबाट निस्केर जरुवा छेउमा हाम फाल्यो र सन्तोलीलाई च्याप्प समायो।

सुरुमा सन्तोली भूत भनी डराएर चिच्याई। तर नियालेर हेर्दा त्यो त उसको सानो मालिक पो रहेछ। ‘महि छोर डेउ मलिक्वा’ भनेर चिच्याउँदा, युवराजले एक हातले मुख थुन्न थाल्यो र अर्को हात छातीमा पुर्‍यायो। सन्तोलीले न्वारनदेखिको बल निकाली। कहाँ वनपात गरेर बलियो भएकी सन्तोली, कहाँ हप्ता दिनदेखि ज्वरोले थालिएर सुतेको युवराज। ऊ सन्तोलीको एक धक्काले डङ्रंग पछारियो। दौडँदै गएर सन्तोली मालिकले सुत्न दिएको कटेरोको ढोका हडबडमा जोडले खाली।

उसको मालिक्नीले सोधिन्, ‘के भयो सन्तोली?’

‘छुट्की मलिक्वा,’ सन्तोलीले रुवाइमिश्रित स्वरमा यतिमात्रै भन्न सकी।

मालिक्नीलाई कुरा बुझ्न गाह्रो परेन। पहिले उसका श्रीमान्का गिद्दे आँखा कमलरी सन्तोलीमाथि पर्‍यो। अब छोराको गिद्दे आँखा कमलरीमाथि पर्दै छ।

उता युवराजलाई सन्चो भएन। सहरमा राम्रो डाक्टरसँग जँचाउछु भनेर घटना भएको अर्को बिहानै हिँड्यो।

तीन महिनाको यस बीचमा घटनाले अचानक नयाँ मोड लियो। सुन्तली बान्ता गर्दै गरेको अवस्थामा मालिक–मालिक्नीको फेला परी। मालिक मालिक्नीलाई खाना पस्किँदै गर्दा उसको बान्ताले करामत देखाएको थियो।

मालिक झोँक्कियो, ‘होइन हिजो राति के घिचिछे यो सन्तोलीले? हाम्रा खाना नै बिटुलो पार्ने गरी वाकवाक गर्छे राँड?’

मालिक्नीले कुरा बुझिसकेकी थिई। त्यसैले उसले मालिकलाई कोठामा बोलाएर गम्भीर छलफल गर्न थाली।

‘होइन, यो सन्तोली राँडले कसको पेट बोकिछे?’

‘होइन के भन्छेस् हँ? नचाहिने कुरा।’

‘चुप लाग्नुस्। आइमाईका कुुरा हामी आइमाईलाई थाहा हुन्छ। देख्नुभएन वान्ता गरेको।

‘खाई होली केही कुरा, अपच भयो होला।’

‘उसको अनुहार हेर्नु न। फुंग उडेको छ। कहिल्यै एक वचन नसोधी समान नचलाउने मान्छे, आँपको अचारको सिसी आधा पारिसकी। यसले त बित्यासै पारिसकी। कुनचाहिँको पेट बोकेकी हो…।’

यति भन्दै मालिक्नीले मालिकलाई पुलुक्क हेरिन्। मालिक भने घोसेमुन्टो लगाएर सोच्दै थिए।

मालिक्नीलाई लाग्यो— होइन यही बूढाको पो पेट हो कि क्या हो। अस्ति कसरी मस्किराथे।

मालिकको सोचलाई भंग गर्दै मालिक्नीले कुरा उप्काइन्, ‘नरिसाउने भए एउटा कुरा भन्छुँ।’

‘भन्न त, तँलाई कल्ले छेकेको छ।’

‘सन्तोलीको पेट हाम्रै छोरा युवराजको हो कि क्या हो?’

‘होइन के भन्छेस् तँ?’

‘तीन महिनापहिले छोरा घर बिदामा आएको थियो। त्यस बेला एक दिन दौडँदै, रुँदै सन्तोली कटेरोमा छिरेकी थिई।’

‘अनि?’

‘के भो भनेर सोधेको त छुट्की मलिक्वा भनेर सुकसुकाई। उसैले बिगार गरेर यसो भएको हो बूढा।’

‘अब यस्तो कुरा उसलाई सोध्न पनि त भएन नि।’

‘सोध्नु पनि पर्दैन, मेरै यी आँखाले सन्तोली रुँदै आएको देख्या।’

बुढाबुढी बीचमा एक सम्झौता भयो। बेलुकी कमैया रौनुलाई बोलाइयो। रौनु तिनीहरूको घरमा वषार्ंैदेखि कमैया थियो। ऐलानीमा सानो छाप्रो थियो उसको। दिनभरि काम गरेर थाकेको रौनुलाई बेलुकी मालिकले आफ्नो भान्सामा खाना खाने निम्तो दिएका थिए। होइन भने ऊ आफ्नै घरमा खाना खान्थ्यो। खानाको निम्तो पाएपछि केही खास त पक्कै छ भन्ने रौनुलाई लागेको थियो।

मालिकले भने, ‘हेर रौनु, मलाई कुरा घुमाएर भन्न आउँदैन। तैंले बिहे गर्छस्?’

‘महि छाई के डि जे मलिक्वा? (मलाई केटी कल्ले दिन्छ र मालिक?)’

रौनुको प्रश्नमा मालिकले भने, ‘सन्तोलीसँग बिहे गर् न।’

‘रौनुले मुख बिचक्यायो, ‘बिग्रल हस बा हजुर।’

‘त्यही बिग्रेर त तैंले बिहे गर् भनेको। हेर तेरो लागि अनि सन्तोलीलाई दुई–दुई जोर लुगा पनि ल्याइदिएको छुँ। तेरो नाममा एक बिगाहा जग्गा पनि पास गर्दिन्छु। बिहे गर्।’

मालिकको कुराले रौनुले मुहार उज्यालो बनायो। मालिकले पनि काम कुरा बन्ने भो भनेर सन्तोषको सास फेरे। जग्गा पास नभई केटी स्वीकार्न नमानेपछि बिहानै मालमा गएर रौनुको नाउँमा एक बिगाहा जग्गा पास गरिदिए। उता सन्तोलीको पनि जिन्दगी उसैको नाउँमा पास गरिदिए।

रौनुले आफूलाई संसारको भाग्यमानी ठान्यो। कारण सन्तोलीको पेटको वास्तविक गर्भ उसको आफ्नै थियो। मालिकको अगाडि सन्तोलीको बारेमा ‘बिग्रेकी जस्ती छ हजुर’ भनेर चेपारो घसेर उसले ठूलो उपलब्धि हासिल गरेको थियो। रौनुलाई लाग्यो— भगन्वा छप्रा फारके डेहठ कलक यीह हो काहुँन् (भगवान्ले दिए भने छानो फारेर दिन्छन् भनेको यही हो क्या रे।)

वर्षौंवर्ष मालिकको घरमा चुहाएको पसिनाको मोलसहित भनेजस्तो स्वास्नी पाउँदा बल्ल रौनुको जिन्दगीको वास्तविक प्यास मेटिएको थियो। सन्तोलीलाई भने जग्गासहितको मालिक्नीको जिन्दगी अझै पनि सपनाझैं लागिरहेको थियो।

साभार : नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया