ago-lagi
पुष ९ सुनसरी । तराईको विभिन्न ठाउँमा आगलागी हुँदा लाखौँ क्षति भएको छ । तराईको झापा, सुनसरी , सिरहा र चितवन भएको आगलागीबाट लाखौँ रुपैयाँ क्षति भएको हो ।

बिहिबार मोटरबाट पानी तान्ने क्रममा विद्युत् सट भएर आगलागी हुँदा झापाको शनिअर्जुन नगरपालिका–२ निवासी डिकबहादुर थापाको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।   बिहान घरमा मोटर चलाउँदा विद्युत् सट भई आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट हुनुका साथै रु दश लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिए ।

आगो विर्तामोड नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

त्यस्तै लहान सिरहाको सीतापुर गाविसमा गएराति भएको आगलागीमा रु ११ लाख बराबरको क्षति भएको छ  सीतापुर–४ स्थित रामविलास रामको गाईगोठमा बालिएको घूरबाट अचानक सल्केको आगो फैलिएर भएको आगलागीमा स्थानीयवासीका सातवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट रामविलास रामको तीन, रामबलि रामको दुई घर तथा फेकन राम र लखन रामको एक÷एकवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा अन्नपात, भाँडावर्तन र नगदसमेत गरी करिब ११ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै सुनसरीको हरिपुर गाविस– ७ भन्टाबारीमा गएराति आगलागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ । आगलागीमा आठ परिवारको आठवटा घर जलेर पूर्णरुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको जिप्रका सुनसरीले जनाएको छ ।

चोरी तस्करी गरी ल्याएको इन्धन भण्डारण गरेर राखेको ठाउँमा सल्काएको घुरले आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीमा स्थानीयवासी मुकेश श्रेष्ठ, छोटु खत्वे, जनार्दन कामैत, सुकसेन कामैत, विनोद शर्मालगायतको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी मिकाइल आलमले जानकारी दिए ।

आगलागीमा परी घाइते भएकाहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिए । आगो इनरुवा नगरपालिकाको वारुण यन्त्र, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै चितवनको भरतपुर उपमहानगरपालिकास्थित एक हार्डवेयर पसलमा गएराति करिब ११ः३० बजे आगलागी भएको छ । लंकुको आदर्शनगरमा स्थानीयवासी प्रकाश पाण्डेको हार्डवेयर पसलमा आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगो लाग्नेबित्तिकै खबर आएपछि राति नै दमकलको सहायताले प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाएको प्रहरीले जनाएको छ ।घरमा विद्युत् प्रवाह भई आगलागी भएको अनुमान गरिएको छ ।नयापेजबाट

 

तपाईको प्रतिक्रिया