uml officeपुष १० काठमाडौं । उद्योग मन्त्रालयको जिम्मेवारीमा मन्त्री बनेका नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेका कारण मन्त्रालयका सबै गतिविधि ठप्पप्रायः भएका छन् । एमाले नेता माधवकुमार नेपालको सम्धी भएका कारण खड्ग ओली नेतृत्वको सरकारमा उनले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । माधव नेपालले आफ्नो कोटाबाट पाण्डेलाई मन्त्री बनाएका हुन् । भारतको नाकाबन्दीका कारण मुलुक तवाही बनेको छ । जनता दैनिक रूपमा दुःखकष्ट व्यहोर्न बाध्य छन् । तर उद्योग मन्त्री पाण्डेले मुलुकभित्र रहेका कुनै पनि उद्योगलाई सञ्चालन गर्ने वातावरण बनाउनुको साटो सिन्को नभाँचिकन बसेका छन् ।

नाकाबन्दीका कारण मुलुकको समग्र उद्योग धन्दा समस्यामा परेको छ । केही मात्रामा इन्धन उपलब्ध हुने हो भने मात्रै पनि मुलुक भित्रैका धेरै उद्योग सञ्चालनमा आउन सक्छन् तर मन्त्री पाण्डेले त्यसतर्फ कुनै पनि पहल नगरी कहाँबाट रकम आउँछ र कसरी पैसा झार्न सकिन्छ भन्नेमा मात्रै लागेका छन् । उनले विभिन्न औद्योगिक क्षेत्र तथा उद्योगहरूमा महाप्रबन्धक नियुक्त गर्ने र त्यसबापत मोटो रकम उठाउने प्रपञ्च चलेको भन्दै उनको आलोचना हुने गरेको छ । विगतमा खड्ग ओलीले कम राजनीति बढी गुण्डागर्दी गर्ने महेश बस्नेतलाई उद्योग मन्त्री बनाएका थिए । बाजुराका सोझा नेता कर्णबहादुर थापालाई बलिको बोको बनाएर ओलीले बस्नेत ल्याएको र कमाउ धन्दा चलाएका थिए । बस्नेतले कमाउ धन्दा चलाए पनि सानातिना काम भने गरेकै थिए । तर पाण्डेले भने भुराहरूले शुरु गरेको कामलाई म किन अगाडि बढाउने भन्दै कुनै पनि नीतिगत निर्णय गर्न सकेका छैनन् । उनले काम गर्ने मनसाय समेत राखेका छैनन् । भुराले गरेका काम मैले किन गर्ने भन्दै पाण्डेले पेट्रोलियम पदार्थ अन्वेषणको विषयलाई अगाडि बढाउने कुनै छेकछन्द देखाएका छैनन् । मुलुकका करीब १८ स्थानमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने फाइल मन्त्रालयको घर्रामा थन्क्याएर राखेका छन् । यस्तै मन्त्री पाण्डेसँगैको विवादका कारण सचिव जयमुकुन्द खनालले सरुवा मागेका थिए । उनी हाल रक्षा सचिवको रूपमा कार्यरत छन् । हाल उद्योग मन्त्रालयमा आएका सचिव सूर्यप्रसाद सिलवाल गृह मन्त्रालयमा रहँदा कालोबजारी संस्थागत गर्ने सचिवका रूपमा परिचित थिए । सिलवालले सेटिङ गरेको कालोबजारीको चक्रव्यूह हालसम्म तोडिन सकेको छैन । सिलवालले समेत मन्त्री पाण्डेलाई टेर्न छाडेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छापिएको छ ।

 

तपाईको प्रतिक्रिया