राम प्रमेश मण्डल/जनकपुर ।

जनकपुर, पुस ११ – आठ वर्षअघि साउदी अरव गएका धनुषाको दुवरकोट हथलेटवा-९ मंगराहाका मिठुवा कुमार ठाकुर खुट्टा गुमाएर फर्किनुभएको छ । ६ सय रियाल तलवमा लेवरको काम गर्दै आउनुभएका ठाकुरले राम्रोसँग नसिकी डोजर चलाउँदा दुर्घटनामा परेर खुट्टा गुमाउनुभएको हो ।  विदेश पठाउँदा एजेन्टले कार्पेन्टर भनेर एक लाख दश हजार रुपैयाँ लिएको थियो तर उहाँले कार्पेन्टर होइन लेवरको काम पाउनुभयो । एक त अशिक्षित अनि हातमा केही सीप पनि थिएन उहाँसँग । त्यसैले बाध्य भएर त्यही काम गर्नुपर्‍यो । ‘त्यति मात्रै होइन साहुसँग सयकडा चार रुपैयाँका दरले लिएको ऋणको ब्याजपनि बढिरहेको थियो’ उहाँले लेवरमै भए पनि काम गरिरहनुको बाध्यता सुनाउनुभयो । महिनाको ६ सय रियाल तलवमै ठाकुरका सात वर्ष विते । तर सात वर्षपछि भने उहाँलाई यत्तिका वर्ष त वित्यो अब त पैसा नकमाई हुँदैन जस्तो लाग्यो । त्यसैले लेवरमा काम गर्दा गर्दै पाकिस्तानी साथीसँग सहयोग मागेर डोजर चलाउन सिक्नुभयो ।

mithuwa kumar

‘केही समय सिकेपछि ड्राइभरको काम पनि पाएँ’ मिठुवा कुमारले भन्नुभयो, ‘तर कमाउन चाहिँ पाइन ।’  त्यसको एक वर्षमै दुर्घटनामा परेर उहाँले देव्रे खुट्टा गुमाउनुपर्‍यो । कम्पनीले तत्काल उपचार त गरायो तर मिठुवा कुमारको खुट्टा भने जोगिएन । एक महिना १० दिनको अस्पताल बसाईपछि कम्पनीले उहाँलाई दिएको बीमाको रकम, तलव र बोनस गरी ३० हजार ६ सय ४८ रियाल अर्थात झण्डै ८ लाख २७ हजार रुपैयाँ लिएर फर्किनुभयो । पैसा त आयो तर गरिखाने खुट्टै गुमेपछि उहाँलाई  अहिले एक जना छोरी, दुई जना छोरा अनि श्रीमती सहितको ५ जनाको परिवार चलाउन मुस्किल परेको छ । त्यसैले ठाकुर अहिले सहयोगको याचना गरिरहनुभएको छ । त्यस्तै आफूले केही नबुझी जाँदा विदेशमा समस्यामा परेको भन्दै उहाँले विदेश जाँदा सबै कुरा बुझेर अनि सीप सिकेर मात्रै जान सल्लाह दिनुहुन्छ ।  साभार: उज्यालो अनलाइनबाट

तपाईको प्रतिक्रिया