rpp-chand-lohani-rana

११ पुष काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ ।राप्रपाका शीर्ष नेताहरुबीच चक्रीय प्रणालीअनुसार नेतृत्व गर्ने सहमतिअनुसार लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चयन गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

नेताहरुबीच भएको सहमतिअनुसार शनिबारदेखि नै वरिष्ठ नेता चन्दले पार्टीको नेतृत्व लिनेछन् ।बैठकको सुरुमा नै पशुपति शमशेर राणाले पार्टी अध्यक्षबाट राजीनामा दिने र चन्दलाई अध्यक्ष प्रस्ताव गर्ने तथा अर्का नेता प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

बैठक बिहान साढे ११ बजे बसुन्धरास्थित एक पार्टी प्यालेसमा बोलाइएको छ । लामो समय आन्तरिक विवादमा फँसेको राप्रपाको १९ महिनापछि केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष पशुपति शमसेर राणाले नेतृत्व हस्तान्तरण नगरेको भन्दै चन्दले समानान्तर पार्टी चलाएपछि राप्रपाको विवाद छताछुल्ला भएको थियो । शीर्षस्थ नेताबीच सहमति जुटेपछि पछिल्लो पटक विवाद मिलेको हो ।

केन्द्रीय समितिको बैठमा वर्तमान सरकारको कार्यशैली, पार्टीले दिएको समर्थनलगायतका विषयमा पनि छलफल हुनेछ ।पार्टी सरकारमा सहभागी हुदा नेता दिपक बोहोराले कुनै निकायबाछ निर्णय नगराएको भन्दै चर्को विवाद सिर्जना भएको छ । सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने विषयमा समेत बैठकमा छलफल हुनेछ ।राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा दुई दिनअघिमात्रैै सरकारमा सहभागी भएका नेता दिपक बोहोराको मन्त्री पद संकटमा पर्नेछ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया