KP-oli-and-Modi

काठमाडौं, १४ पुस । आफूलाई दिएको आश्वासन अनुसार नाकावन्दी नखुलेकामा आक्रोशित देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सामूहिक रुपमा सम्वाद गर्न प्रमुख प्रतिपक्षी दल काँग्रेस र सत्ता साझेदार दल एमाओवादीलाई आग्रह गरेका छन।

भारतले असहयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस,एमाले र एमाओवादीका शिर्ष नेताहरुको सोमबार बालुवाटारमा बसेको बैठकमा भारतसँग सामूहिक रुपमा सम्वाद गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन। भारतीय राजदूत रणजीत रेले आफूसँग भेटवार्ता गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले सत्ता साझेदार र विपक्षीसँग त्यस्तो आग्रह गरेका हुन।
‘भारतले साह्रै दुख दियो। अब हामीले एउटा टीम बनाएर सामूहिक रुपमा कुराकानी गर्नु पर्यो। यसबारेमा आजै निर्णय गरौ,’ ओलीको भनाई उघृत गर्दै एक सहभागी नेताले  भने।

बैठकमा सहभागी अर्का नेताका अनुसार भारतबाट पाएको आश्वासन अनुसार काम नभएको प्रधानमन्त्रीको भनाईबाट बुझिन्थ्यो। काँग्रेसका नेताहरुले सामूहिक रुपमा भारतसँग सम्वाद गर्न आफूहरुले पार्टी भित्र छलफल गर्नु पर्ने बताएपछि सामूहिक संवाददबारे निर्णय भने हुन सकेन।

बैठकमा काँग्रेस सभापति सुशील कोइराला,उपसभापति प्रकाशमान सिंह,नेताहरु डा रामशरण महत र डा मिनेन्द्र रिजाल सहभागी थिए। उपप्रधानमन्त्री कमल थापाले दुई पटक गरेको भारत भ्रमण र भारतीय नेताहरुसँग भएको कुराकानीका आधारमा प्रधानमन्त्री ओलीले भारतीय नाकावन्दी चाडै खुल्ने बताउँदै आएका थिए।

नेपाल सरकारले निर्वाचन क्षेत्र निर्धारण,समानुपातिक र समावेशी प्रतिनिधित्व जस्ता बिषयलाई समेटेर संविधान संशोधन बिधेयक अगाडि बढाउने र भारतले नाकावन्दी खोल्नेबारे प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुलाई उल्लेख गर्दै आएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया