Prachanda1

१९ पुस, विराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी मोर्चाको विरोधका बाबजुद व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव नरोकिने बताएका छन् । सो प्रस्ताव पारित गरेपछि भारतले गर्दै आएको नाकाबन्दी खुलाउने उनले दावी गरे ।

विराटनगरमा आइतबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘मधेसी मोर्चासँग आज हुने वार्तामा सहमति नभए पनि उनीहरुको आशय अनुसार संशोधन प्रस्ताव संसदमा छलफलका लागि पेश हुने छ,’ प्रचण्डले भने, ‘संशोधन विधेयकमाथि परिमार्जन गर्न ७२ घण्टा समयसिमा हुन्छ । यो अवधिसम्म हामी मोर्चासँग सहमति जुटाउने प्रयासमा हुनेछौं ।’

प्रचण्डले मोर्चासँग आजको वार्ता निर्णायक हुन सक्ने पनि बताए । कांग्रेस, एमाले र एमाओवादीबीच चार बजे बस्ने वैठकले मोर्चासँगको वार्ताका एजेण्डामा सहमति जुटाउने र त्यसपछि तीन दल र मोर्चाबीच निर्णायक वार्ता हुने उनको भनाई थियो ।

मोर्चा त फुट्यो नि कुनसँग वार्ता गर्नुहुन्छ त भनी संचारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले सद्भावना पार्टीसँग छुट्टै वार्ता नहुने जानकारी दिए । ‘मधेसी जनताले पनि त बुझ्लान् नी को कति निहु खोज्दै छ’ उनले भने ।

– See more at: http://www.onlinekhabar.com/2016/01/370462/#sthash.KjI9UqZb.dpuf

 

तपाईको प्रतिक्रिया