aandolankari-ko-mrityu-640x450

जनकपुरधाम, २५ आश्विन । जनकपुरमा ट्रयाक्टरबाट किचिएर एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका ८ बस्ने अभिराम ठाकुरका २५ वर्षीय छोरा रोशन ठाकुर रहेका छन् ।

शनिबार राति १२ बजेको समयमा ईट्टा लिएर भानुचोक तर्फ जाँदै गरेको ज १ त ३४१४ नम्बरको ट्रयाक्टरलाई रोकाएर चेकजाँच गर्न खोज्ने क्रममा सोही ट्रयाक्टरले किचिएर ठाकुर गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि जनकपुर अंचल अस्पताल लगिए पनि सम्भव नभएपछि विपी कोईराला विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका साथि प्रत्यक्षदर्शी जनकपुर उपमहानगरपालिका १३ बस्ने विजय मण्डलले जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शी विजयका अनुसार उनीहरुले भनुचोकबाट जनकचोक तर्फ ट्रयाक्टर जाँदै गरेको देख्नासाथ रोशनले ट्रयाक्टरलाई रोकाउन खोज्दा किचिएर गम्भीर घाईते भएका थिए । तिव्र गतिमा रहेको ट्रयाक्टरले रोशनलाई किच्दै भागेको विजयले जनाएका छन् । ट्रयाक्टरबाट खसेको ईट्टा बसहियाको मनोज ईट्टा उद्योगको रहेको र ट्रयाक्टर पनि त्यँहीबाट आएकोे पत्ता लागेको विजयको भनाई छ । ट्रयाक्टर हाल जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

रोशनको शव धरान अस्पतालमै पोष्टमार्टम पश्चात घर ल्याएपछि घटना सार्वजनिक भएको हो । रोशनको शवलाई आईतवार साँझै दाहसंस्कार गरिएको छ । स्थानीयका अनुसार रोशन मधेश आन्दोलनमा २४ घण्टा सक्रियतापूर्वक लागेका थिए ।

यता अन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घटना ढिला जानकारी भएको जनाएको छ । घटनासन्दर्भमा मोर्चाले सोमबार बैठक बसी गम्भीरतापूर्वक छानविन गर्ने मोर्चाका धनुषा संयोजक परमेश्वर साहले बताएका छन् ।साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया