- अमर काफ्ले

सुनसरीको इनरुवामा सुरु रात्रिकालीन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफले बिजयी सुरुवात गरेका छन् ।पहिलो खेलमा आर्मीले सुनसरी भलिबल टिमलाई हराउँदा अर्को बिभागीय टोली एपीएफले इनरुवालाई पराजित गरेको छ ।

पहिलो खेलमा आर्मीले सुनसरी विरुद्ध सोझो सेटमा जित निकालेको हो । पहिलो सेट२५–१३ ले जितेको आर्मीले त्यस पछिका लगातार दुई सेट २५–१४ र २५–१६ ले आफ्नो पक्षमा पार्दै बिजयी सुरुवात गरेको छ ।दोस्रो खेलमा एपीएफले समेत इनरुवा विरुद्ध सहज जित निकाल्यो । एपीएफले २५–१०, २५–१९ र २५–१४ को सोझो सेटमा इनरुवालाई हराएको छ ।
प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट र एपीएफका बिजय थापा म्यान अफ द म्याच घोषित भए ।

शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त रुपमा संचालनमा ल्याएको भलिबल प्रतियोगिता फागुन २२ गते सम्म चल्ने छ । प्रतियोगितामा तीन बिभागीय सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले शिल्ड सहित नगद १ लाख ५० हजार पाउने छ भने उपबिजेताले ७५ हजार प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया