- अमर काफ्ले

भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी सुनसरीकी नर्सको परिवार सहित २० जनाको स्वाब संकलन गरिएको छ । झुम्का घर भएकी नर्स ड्युटीमा फर्केपछि काठमाडौंमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा कोरोना संक्रमित भेटिएकी थिइन् ।

चैत्र १० गते झुम्का आएकी ति महिला जिल्ला प्रशासन कार्यालय इनरुवाबाट पास बनाएर आफन्तको सहयोगमा मोटरसाइकलबाट भक्तपुर पुगेकी थिइन् ।कोरोना पोजेटिभ पाइएपछि उनको घर परिवार र आफन्तसँग सम्पर्कमा रहेकाहरुको पहिचान थालिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । परिवारका ४ जना सदस्य सहित २० जनाको स्वाब परीक्षण गरिएको प्रजिअ पौडेलले बताए ।संक्रमित महिलासँगको क्लोज कन्ट्याकमा रहेका ११ जना र अन्य ९ गरी कुल २० जनाको कन्ट्याक ट्रेसिङ भएको प्रशासनले जनाएको छ । एक अर्काको सम्पर्कका आएकाहरु समेत पहिल्याउने काम भैरहेको प्रशासनले जनाएको छ । सुनसरी प्रशासनका अनुसार कोरोना संक्रमित भेटिएकी महिला दिदीको घरमा समेत बसेको पाइएको छ । संक्रमितकी दिदी रामधुनी नगरपालिकाको वडा सचिव हुन् ।

यसैबिच कोरोना संक्रमित भेटिएकी नर्सको घर र वरपरको अवस्था बुझ्न स्वास्थ्यकर्मी सहितको टोली सो तर्फ गएको छ । प्रदेश, जिल्ला र नगरपालिकाको टोलीले स्थलगत नीरिक्षण गरि जानकारी बटुल्दै गरेको सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।यसैबिच पास लिएर काठमाडौं गएकी महिलामा संक्रमण देखिएपछि पास जारी गर्ने कार्यालयका कर्मचारीमा समेत त्रास देखिएको छ ।पास लिन पुगेकी महिलाले बोकेको कागजपत्र एक फाँटबाट अर्कोमा हुँदै एक भन्दा बढी कर्मचारीहरुको हातमा पुगेको कार्यालयका कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार संक्रमित पाइएकी महिला प्रजिअको कक्षमा समेत पुगेकी थिइन् । जोखिमका साथै घर परिवारमा त्रास बढेको भन्दै कर्मचारीहरुले आफुहरुको समेत स्वाब संकलन गरिनुपर्ने माग गरेका छन् ।










तपाईको प्रतिक्रिया