- अमर काफ्ले

यतिबेला इनरुवामा वडा नम्बर ५ को खुबै चर्चा छ । स्थानीय तह निर्वाचनताका वडाध्यक्षको चुनावी प्रतिष्पर्धासँगै सुरु भएको चर्चा यतिबेला भने बिकासे गतिविधिका कारण थप चुलिएको छ ।

इनरुवा नगरपालिकामा जम्मा १० वटा वडा छन् । जसमध्ये बलाहा क्षेत्र ओगटेको वडा हो ५ नम्बर । उक्त वडाको अध्यक्ष हुन् अञ्जनी कुमार पोखरेल ।
वडा कार्यालय मार्फत भएका र भैरहेका कामकाज यतिबेला समग्र नगरवासीकै लागि चासो र चर्चाको विषय बनेको छ ।
खासगरी वडा कार्यालयले नगरपालिकाबाट रकम निकासा नहुँदाको अवस्थाका बिच समेत उधारोमै भएपनि बिकास निर्माणका कामलाई दिएको पूर्णता, वडावासीका हकमा देखाएको उदारता, साथ र सहयोगका अलावा पुराना अधुरा र नयाँ योजना कार्यान्वयन प्रतिको तदारुकता अन्य वडावासीकालागि यतिबेला बहसको विषय बनेको छ ।


सामाजिक सञ्जालहरुमा समेत वडा नम्बर ५ ले त्यत्तिका काम गर्दा अन्य वडाले किन गरेनन् भन्ने कटाज्ञ समेत हुन थालेको छ ।
३ नम्बरलाई नगरको उत्कृष्ठ वडा हुने छ भन्ने अपेक्षा गरेका मध्येका धेरैजसो नगरवासीको समूह यतिबेला ५ नम्बर वडाको पक्षमा बोल्न थालेको देखिएको छ । चाहे खुलेर होस या सामाजिक सञ्जाल मै किन नहोस । उनीहरुको बुझाईमा ३ नम्बरमा सीमित काम भएका छन् । तर अपेक्षाकृत भने हुन सकेन् । यद्यपी वडा नम्बर ५ ले भने सोचे भन्दा बढी काम देखायो । जसले अन्य वडाको दाँजोमा आफुलाई अब्बल ठहराउदै  गएको छ ।
वडा नम्बर ५ मा पछिल्लो अवधिमा देखिएका महत्वपूर्ण कामहरुमा ५ वटा नमूना टायल बाटो निर्माण, भित्री खण्ड स्तरउन्नती, कालोपत्रे पिच, किसानकालागि वोरिङ जडान, जिम हलका साथै चरा संग्राहलय, स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण, वाइफाईका साथै सिसी क्यामेरा जडान जस्ता रहेका छन् । वडाले बहुवर्षिय योजनाहरुको कार्यान्वयनलाई समेत प्राथमिकताका आधारमा संचालन गरेको छ ।

जसमध्ये चरा संग्राहलय निर्माण चरणमा छ भने जिम हल निर्माण अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य चौकी र वडा कार्यालयको भवन समेत निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ ।
वडा कार्यालयले नगरपालिकासँगको समन्वय र सहयोगमा एकपछि अर्को कामलाई तिव्रता दिई रहनुनै अन्य वडासँगै त्यस वडाका वडावासीमा चर्चा र बहसको विषय बनेर देखा परेको छ । सो क्रम समग्र नगरमा देखा परेको छ । स्वयं नगरपालिकाकै कर्मचारी समेत अन्य वडाको तुलनामा वडा नम्बर ५ मा धेरै कामहरु भएको र जारी रहेको बताउने गरेका छन् ।
घरलौरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको विषय अन्य वडाको दाँजोमा ५ नम्बरले बढी चर्चा बटुल्न सफल देखियो । कतिपय कामको सुरुवातमा समेत ५ नम्बर अघि देखिएको छ । जेष्ठ नागरिकसँगै किसानको विषयमा वडाका कतिपय निर्णय धेरैकालागि उदाहरणीय बनेको छ ।

सबैजसो वडाले चुनावी नारामा फ्रि वाइफाईको विषय घन्काएका थिए । उक्त कुरो कार्यान्वयनमा ल्याउँदै विस्तार सहित निरन्तरता दिलाउने वडा समेत ५ नम्बर नै बनेको छ । अन्य केहि वडाले समेत क्रमश सो क्रमलाई विस्तार गर्दै आएतापनि समग्रमा ५ नम्बर अन्य भन्दा अघि देखिएको छ । वडा नम्बर ५ को कार्यालय पादर्शिताकाको विषयमा समेत अघि देखिएको छ । भएगरेका कामकाजहरु सार्वजनिक गर्ने देखि वडावासीको मन जित्न हरसम्भव प्रयासमा जुटेको जस्ता विषयले उसलाई अन्य भन्दा भिन्न बनाएको छ ।

वडा नम्बर ५ ले यतिबेला मुख्य सडकमा सिसी क्यामेराको जडान गरेको छ । तत्काल १० वटा क्यामेरा जडान गरेको वडाले भित्री बाटाहरुमा समेत क्रमशः सोको विस्तार गर्दै लैजाने जनाएको छ ।

वडाले कार्यालयबाटै निगरानी थालेको छ । वर्षातको समयलाई मध्यनजर गर्दै जेष्ठ नागरिक र एकल महिलाकालागि छाता वितरणको कार्य समेत ५ नम्बर वडाले अन्तिम चरणमा पुर्याएको छ ।

वडा अध्यक्ष अञ्जनी कुमार पोखरेल भन्छन् , “सबै इक्षा शक्तिमा भर पर्छ । जसले आँट्छ, उसले गर्छ । कस्ले के भन्ला भनेर सोच्ने नै हैन् । काम देखाउने हो । स्वयं जनताले आफैं मूल्याङकन गर्ने छन् ” । उनले थपे, “समाजमा खुट्टा तान्ने जमात ठुलै छ । जो एकदिन आफैं थलिने छन् । केवल काम गर्दै जाने हो । जनताका लागि, वडा र वडावासीका लागि ।” (अध्यक्ष सँगको कुराकानीका साथै अन्य वडावासीसँगको कुराकानी र भनाईका आधारमा)









तपाईको प्रतिक्रिया