काठमाडौं। मन्त्रिपरिषद्को बुधबारको बैठकले यस पटकको एसईई खारेज गरेको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस पटक एसईई नगर्ने प्रस्ताव पारित गरेको छ ।

एसईई खारेज भएपछि विद्यालयकै आन्तरिक मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई यस पटकलाई खारेज गरी विद्यालयकै आन्तरिक मूल्यांकलनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव लगेका थिए। मन्त्री पोखरेलले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो । एसईई खारेज गर्नेसहित मन्त्रिपरिषद्ले गरेको निर्णय अर्थमन्त्री तथा सरकार प्रवक्ता डा युवराज खतिवडाले सार्वजनिक गर्नेछन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सुझाव कार्यदलका संयोजक दीपक शर्माले आफूहरुले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्पसहित प्रतिवेदन दिइएको जानकारी दिए । सो विकल्प र प्रस्तावबारे मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार कार्यान्वयन गरिने उनले बताए । सुझावमा हरेक विकल्पको सम्भावना, चुनौती र अवसरबारे समेत विवेचना गरिएको जनाइएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलको संयोजकत्वमा रहेको समितिको सुझावलाई विश्लेषण गरी शर्मा नेतृत्वको कार्यदलले पछिल्लो सुझाव दिएको हो ।

यस वर्ष ४ लाख ८२ हजार२ सय ११ जनाले एसईई दिने तयारी गरेका थिए । त्यसको लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षाको लागि प्रश्नपत्र सबै केन्द्रमा पुर्याइएको थियो । परीक्षा अचानक स्थगित भएपछि प्रश्नपत्र केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् । गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो ।









तपाईको प्रतिक्रिया