जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी बिनोद शर्माले कोरोना सम्वन्धि दिएको झुटो सूचनाका कारण झण्डै २४ घण्टा नगरवासी त्रासमा बसे । स्थानीय पपुलर एफएमको कोभिड १९ सम्वन्धि कार्यक्रममा प्रवक्ता शर्माले इनरुवामा रहेको बैंकका एकजना व्यक्ति कोरोना संक्रमित भेटिएको बताएका थिए । राती ८ बजे प्रशारित उक्त कार्यक्रममा पत्रकार अजित झा सँगको कुराकानीमा डिएसपी शर्माले कोरोना पोजेटिभ पाइएका व्यक्ति सँगको कन्ट्याक ट्रेसिङका आधारमा परिवारका व्यक्तिहरुको समेत चेकअपको तयारीमा रहेको भन्ने जवाफ फर्काएका थिए । एफएमबाट उक्त कार्यक्रम प्रशारण भए लगत्तै इनरुवामा रहेका बैंकका कर्मचारी तथा स्थानीयहरुले स्थानीय संचारकर्मीहरुलाई सो बारे जिज्ञासा राखेका थिए ।

तारमतारको फोन पश्चात खबरको पुष्टिका लागि आआफ्नो स्रोतसँग विषय वस्तु खोतलेका संचारकर्मीहरुले खबरको आधिकारिक पुष्टि नपाए पछि सोही व्यहोरा जानकारी गराएका थिए ।
गयराती मात्रै नभएर आज दिउँसो सम्मै उक्त खबरले इनरुवावासीमा सनसनी मचाई रह्यो । डिएसपीको आवाज प्रशारण गर्ने एफएम देखि अन्य संचारकर्मी सबैको मोबाइलमा आउने फोनको घण्टीमा धेरैजसोले बैंकका कर्मचारीमा भेटिएको भनिएको कोरोना पोजेटिभ कुन बैंक को हो भनेर सोध्ने मात्रै थिए ।

डिएसपीले बोलेको विषय भएकाले पनि अविश्वास गरिहाल्न समेत नमिल्ने अधिकांशको तर्क थियो । तरपनि उनीहरु दोधारमा देखिन्थे । बैंकको कर्मचारी भएको भए किन बैंक सिल गरिएन् । कुन बैंकको भनी किन जानकारी गराइएन् भन्ने जस्ता जिज्ञासा उनीहरुले बारम्बार प्रकट गरिरहेका थिए । उनीहरु त्रासमा देखिन्थे । बाटामा भेटिने देखि सबैजसो जसले उक्त खबर बारे थाहा पाए । सबै अत्तालिएका देखिन्थे । किनकी, लक डाउनमा टाइम कार्ड लागु गरी खुलेका बैंकहरुमा कारोवारका लागि पुग्नेको लर्को इनरुवाका सबैजसो बैंकमा उत्तिकै देखिन्थ्यो । स्वयं बैंकका कर्मचारीहरु समेत अत्तालिएका थिए । नगरवासीमा समेत झण्डै २४ घण्टा त्रासको वातावरण देखियो । यद्यपी सो विषय स्वास्थ्य कार्यालय सुनसरी मात्रैले नभएर प्रहरीकै स्रोतले समेत पुष्टि गर्न सकेन् ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाले बैंकमा काम गर्ने व्यक्ति कोरोनाको आशंकामा चेकजाँचका लागि अस्पताल पुगेको भन्ने खबर आफुकहाँ आएको भएतापनि कोरोना संक्रमित नै पुष्टि भईसकेको भन्ने विषय जानकारीमै नरहेको बताए । के आधारमा डिएसपीले कोरोना संक्रमित भनेर बोलेका हुन् भन्ने विषय आफुले सोधीखोजी गर्ने थापाले बताए । उता सुनसरी प्रहरीका प्रवक्ता बिनोद शर्माले आफुबाट गल्ती भएको स्विकारे । उनले लक डाउनमा सामाजिक दुरी कायम नभएको र भिडभाड बढेकाले सावधानी अपनाउन जिल्लावासी समक्ष आग्रह गरिरहँदा परिक्षणकालागि अस्पताल पुगेका व्यक्तिमा कोरोना पोजेटिभ भनी आफुले भुलवस बोलेको प्रतिकृया दिए ।

सो विषयमा उद्योग वाणिज्य संघ मार्फत सबै बैंकलाई जानकारी गराई दिन समेत आफुले आग्रह गरिसकेको उनले बताए । शर्माले कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट समेत नेगेटिभ आएको जानकारी दिए । डिएसपी शर्माले आफुबाट गल्ती भएको बताए पनि सर्वसाधारणहरुले भने जिम्मेबार व्यक्तिबाटै कोरोना सम्वन्धि भ्रामक खबर फैलाइनु दुखद भएको बताई रहेका छन् ।









तपाईको प्रतिक्रिया