- अमर काफ्ले

आगलागीका कारण पुगेको क्षति दमकल बिग्रेर नबनाइदाको परिणाम भन्दै मर्मत सहयोग जुटाउन स्थानीयले रु. ५ का दरले रकम सहयोग गरेका छन् ।इनरुवा बजारमा रहेका पसलहरुमा पुगी स्थानीयले दमकल मर्मत वापतको रकम संकलन गरेका हुन् ।

नागरिक समाज इनरुवाको नाममा बजारमा रकम संकलन गरिएको थियो । नगरपालिकाको कार्यालयलाई दमकल मर्मत गर्न उठाइएको चन्दा संकलन कार्यक्रममा पोष्टकुमार नेपाल, रामप्रसाद मेहता, तिर्थ अधिकारी, रमेश तिम्सिना लगायतका सामाजिक अगुवाहरुले समेत रु.५ सहयोग गरेका थिए ।बजारका दोकानै पिच्छे संकलित चन्दा वापत उठेको २ हजार ५ सय २५ रुपैंया इनरुवा नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त रकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई बुझाइएको छ ।


नगर प्रमुखलाई उक्त रकम बुझाउने तयारी गरिएको भएपनि कार्यालयमा उपस्थित नरहेका कारण दमकल मर्मत वापतको रकम उप प्रमुखलाई जिम्मा लगाउन खोजिएको थियो ।  नगर प्रमुखले सो विषयमा आफैं आएर बुझ्ने बताएको हुँदा आफुले उक्त रकम नबुझेको उप प्रमुख जमुना गौतम पोखरेलले बताइन् ।नगर प्रमुखको कार्यालय आईपुग्ने ठेगान नभएको भन्दै सांकेतिक विरोध स्वरुप दमकल मर्मत वापत संकलित रकम बुझाउन पुगेको नागरिक समूह प्रशासकीय अधिकृतलाई उक्त रकम जिम्मा लगाएर फर्किएको थियो ।


उता नगर प्रमुख राजन मेहताले दमकल खरीदको प्रकृया कार्यपालिकाको बैठकबाट तत्कालै बढाइने बताएका छन् । टेलिफोन संवादमा मेहताले अघिल्लो वर्षनै दमकल खरीदको प्रकृयामा नगरपालिका अघि बढेको भएपनि संघीय र प्रदेश सरकारबाट सहयोग स्वरुव प्राप्त हुने आश्वासनमा पर्दा नगरपालिका खरीद प्रकृयामा नगएको बताए ।
अब भने स्वयं नगरपालिकालेनै नयाँ दमकल किन्ने मेहताले बताए । उनले लक डाउनका कारण बिग्रेर थन्केको दमकलको पाटपुर्जा उपलब्ध नहुँदा मर्मत गरी संचालनमा ल्याउन नसकिएको बताए ।इनरुवाका मुख्य बजारमा रहेको हनुमान वस्त्रालयमा आगलागी हुँदा ५ करोड बढीको क्षति भएको थियो । आगो निभाउन छिमेकी पालिका सहित अन्य जिल्लाबाट दमकल इनरुवा आएका थिए । दमकल नभएकै कारण बढी क्षति भएको भन्दै इनरुवाका युवाहरुले समेत आजै बिरोध जनाएका छन् ।

उनीहरुले नगरपालिकाको लाचारी भन्दै नाराबाजी सहित नगर परिक्रमा गरेका छन् । उनीहरुले समस्याका बारेमा जानकारी गराउँदा नगर प्रमुखले उल्टै खेदजनक अभिव्यक्ति दिएको बताएका छन् ।










तपाईको प्रतिक्रिया