मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा निर्मित कोभिड १९ उपचार केन्द्रको आइसोलेशन वार्डमा राखिएका आठ जिल्लाका ४० जना कोरोनालाई जितेर फर्किएका छन । आठ जिल्लाका ४० जनाले कोरोना जित्न सफल भएका हुन ।

उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसदहरु लोकप्रसाद संग्रौला र राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिका मेयर शिव ढकाल, उपमेयर धना तामाङ लगायतले फुल दिएर विदाई गरेका छन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना गरी १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । प्रदेश १ मा अब कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको पीसीआर परीक्षणगर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट विदाई गरिएको मन्त्री घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको दाबी गरे । उनले प्रदेशमा कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएकोले चाँडै सुखद खबर सुन्न पाइनेमा आफु आशावादी रहेको बताए । क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उनले दाबी गरे । बिहीबार डिस्चार्ज हुनेहरुमा जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा।शैलेशमणी पोखरेलले जानकारी दिए । प्रदेश १ का संक्रमितको संख्या ४ सय १६ रहेकोमा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा २९ जना, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ८५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना संक्रमितहरु उपचाररत रहेका छन ।











तपाईको प्रतिक्रिया