माघ ७ इनरुवा / चोरको आशंकामा स्थानीयको कुटाईबाट एकजनाको ज्यान गएको छ ।

दुहवी भलुवा नगरपालिका १ स्थित हरिनारायण साहको घरमा चोरी गर्न गएको भनिएका ३० वर्षिय आलम मोहमदको स्थानीयको कुटाईका कारण ज्यान गएको हो । विहानीपख २ बजेको समयमा साहको घरमा पुगेका मोहमदलाई घरका व्यक्तिले पक्राउ गरी कुटपिट थालेका थिए । मोहमदलाई गाइ गोठमा बाँधेर कुटपिट गर्न थालेपछि स्थानीयहरु समेत घटना थाहा पाई साहको घर पुगेका थिए । स्थानीय लगायतकाले रातभरी बाँधेर निर्घात कुटपिट गरेपनी विहानी पखमात्र घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले गम्भिर घाइते मोहमदलाई स्थानीय सामूदायिक अस्पताल दुहवीमा पुर्याएको थियो । स्थानीयको कुटाईबाट गम्भिर घाइते मोहमदको सोही अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पुर्याइएकोमा निजको उपचारकै क्रममा विहान मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । मोहमद चोरी गर्न गएको भनिएको घरपेटी हरिनारायण साहभने फरार रहेको इप्रका दुहवीले जनाएको छ ।

तपाईको प्रतिक्रिया