नवलपरासी २५ आश्विन । नवलपरासीमा मोटरसाइकल जलाउनेको लर्काे लागेको छ । सीमावर्ती दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको मोटरसाइकल भेट्यो कि आगो सल्काइहाल्ने मोर्चा सम्बद्ध केही कार्यकर्ताको मुख्य काम बनेको छ । विगत २ दिनमा ४ वटा मोटरसाइकल पेट्रोलियम पदार्थसहित जलाइएका छन् । जलाइएका मोटरसाइकलहरुको नम्बर खुल्न सकेको छैन ।

भारतबाट ल्याइरहेको शंका लाग्ने बित्तिकै पेट्रोलियम पदार्थसहितको मोटरसाइकल जलाउने घटना बढेपनि नवलपरासीमा पेट्रोलियम पदार्थको अवैध ढुवानीको नियन्त्रण भने प्रभावहीन बनेको छ । मोर्चाका कार्यकर्ताहरु भारतबाट आउने सबै जसो चोर नाकामा निगरानी बढाएपनि चौबिसै घण्टा पेट्रोलियम पदार्थ भित्रिने गरेकोले घुम्ती टोली खटाईएको मोर्चाका हरि प्रसाद यादवले बताए ।

motorcycle-ma-aagjani

सीमावर्ती क्षेत्रका मुख्य नाकाहरु नियन्त्रणमा आइसके पनि साना बाटोबाट रातीको समयमा डिजेल पेट्रोलको ढुवानी भइरहेको अवस्थामा ढुकेर बसेको बेला शनिवार राती १० बजेको समयमा भेटिएका २ वटा मोटरसाइकल कुश्मा गाविसको ६ नं. वडामा जलाईए । मोटरसाइकलमा १ सय लीटरभन्दा बढी पेट्रोल रहेको थियो । चोरनाकाको दर्जनौं स्थानमा डीजेल पेट्रोल भुईंमा खन्याएर जलाइएको छ ।

आगजनी गर्ने क्रम बढेपछि सामान्य कामका लागि मोटरसाइकल गुड्नमा कमी आएको छ । औषधि उपचार गर्न, किनमेलका लागि आवतजावत गर्न, कर्मचारीहरु कार्यालय जानका लागि मोटरसाइकल चढ्न हिच्किचाइरहेका छन् । तराइ मधेशका आन्दोलन भइरहेको क्षेत्रमा साइकल चढ्ने बढ्दै छन् । विद्यालय जान सँधै मोटरसाइकल चढ्ने गरेका शिक्षकहरु साइकल चलाउँदै देखिएका छन् ।

चाडवाडमा सहजताका लागि जनैपुर्णिमादेखि मोटरसाइकल संचालनमा मोर्चाले दिएको छुट पेट्रोलियम पदार्थको अवैध ओसारपसारकै कारण आश्विन २२ गतेदेखि रोक लगाएपछि बाटा सुनसान बन्न थालेका छन् । बाटोमा मोटरसाइकल देख्न छाडेको छ । मोटरसाइकल देखियो भने पेट्रोलियम पदार्थ बोक्ने मान्छे हो कि भनेर सर्वसाधारण समेतले नियाल्ने गरेको देखिन्छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले थालेको अनिश्चितकालीन मधेश बन्द तथा सीमा नाकाबन्दीका कारण देशमा उत्पन्न भएको पेट्रोलियम पदार्थको अभावले तस्करी बढाएको हो । तस्करी कार्यमा हुँदा खानेदेखि हुनेखानेहरु पनि संलग्न हुन पुगेका छन् । एउटा मोटरसाइकलले दिनभरमा १० देखि २० हजार रुपैयाँसम्म कमाउन सकेका थिए ।

एक सय दश रुपैया प्रति लिटर मुल्य पर्ने भारतीय बजारबाट ल्याएको पेट्रोल नेपाली सीमामा छिर्ने बित्तिकै २ सय देखि ३ सयसम्ममा बिक्री हुनुले पनि पेट्रोलियम पदार्थ ओसारपसारमा धेरैको संलग्नता बढेको सहजै अनुमान गर्न सकिन्छ । स्थानीय रुपमा मोर्चाका कार्यकर्ता समेत ओसारपसारमा लिन भएको आरोप पनि लाग्ने गरेको छ ।साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया