- अमर काफ्ले

न्याय निरुपण गर्ने उद्येश्यका साथ जिम्मेबारीमा रहेका मेलमिलाप कर्ताहरुकालागि इनरुवा नगरपालिकाको कार्यालयले अभ्यास अभिमुखिकरणको आयोजना गरेको छ ।
स्थानीय स्तरमा आइपर्ने समस्यासँगै प्राप्त निवेदन र उजुरी पश्चात अपनाइनु पर्ने प्रकृया लगायतका बारेमा कार्यक्रममा अभ्यास गराइएको थियो ।

पूर्न ताजगी कक्षाका रुपमा संचालन गरिएको अभिमुखिकरण कार्यक्रममा न्याय निरोपणका सवालमा भैआएका अभ्यास सँगै समय सापेक्ष र आवश्यकताका आधारमा सेवा प्रवाहलाई थप चुस्त र विश्वसनीय बनाउँदै लैजानु पर्नेमा जोड दिइएको थियो ।

इनरुवा नगरपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन नगर प्रमुख राजन मेहताले गर्नु भएको थियो ।
न्यायिक समिति संयोजक समेत रहनु भएकी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले मेलमिलाप कर्ताहरुले खेल्नु पर्ने भुमिका सम्वन्ध पूर्न ताजगी गराउन उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


विवाद रहित तवरले कार्य सम्पादनमा मद्दत पुगोस भन्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको पोखरेलले बताउनु भयो । न्यायिक समितिमा आउने मुद्दा मामिलाको सम्वन्धमा मेलमिलाप कर्ताले खेल्नु पर्ने भुमिकाको विषयमा अभ्यास अभिमुखिकरण कार्यक्रममा आवश्यक छलफल गरिएको पोखरेलले बताउनु भयो ।
पोखरेलले भन्नुभयो, “धेरैजसो मुद्दा र उजुरी सोझै नगर स्तरीय समितिमा आउने गरेको छ । त्यस्ता विषय केहि हदसम्म सम्वन्धित वडामा समेत पुग्छ । समन्वयमा रही मेलमिलाप कर्ता मार्फत विवाद तथा सम्वन्धित मुद्दा मामिलाको छिनोफानो गर्ने गरिएको छ । ”

सम्पन्न कार्यक्रममा सहभागिहरुलाई अधिवक्ता तथा अधिकारकर्मी कृष्ण दाहालले सहजिकरण गर्नु भएको थियो । दाहालले न्याय निरोपण पूर्व मेलमिलाप कर्तामा वर्तमान कानुनी व्यवस्थाका साथै कानुन संगत सिद्धान्त र अवधारणा लगायत वर्तमान परिपेक्ष्य जस्ता विषयमा जानकारी रहनु आवश्यक रहेको बताउनु भयो ।

अज्ञानताका कारण त्रुटीपूर्ण हुन जाने मुद्दाको छिनोफानोले समाजमा नकारात्मक असर निम्त्याउने तर्फ समेत सजक भई काम गर्नु मेलमिलाप कर्ताहरुको दायित्व रहेको जस्ता विषयमा दाहालले प्रशिक्षण दिनु भएको थियो ।
न्यायिक समिति इनरुवामा बढी मात्रामा सांध सिमाना, घरेलु हिंसा, विवाह दर्ता, साईबर अपराध, छर छिमेकी र संधियारका विषय निवेदन तथा उजुरीहरु आउने गरेका छन् । नगरपालिकाको कार्यालयमा नगर स्तरीय र वडामा वडा स्तरीय न्यायिक समिति गठन भई संचालनमा रहेको छ ।




तपाईको प्रतिक्रिया