- अमर काफ्ले

कोरोना महामारीलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाले सुनसरी जिल्ला अदालतलाई स्वास्थ्य सरसफाईका सामग्री उपलब्ध गराएको छ ।कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी अदालत पुग्ने सेवाग्राही लगायतको स्वास्थ्यको ख्याल गर्दै नगर प्रमुख राजन मेहताले सरसफाईमा प्रयोग आउने सामग्री अदालतलाई उपलब्ध गराएका हुन् ।

नगर प्रमुख मेहताले हात धुने धारा जडित टेंकी र सरसफाईमा प्रयोग आउने लगायतका सामान सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो ।अदालत हातामा राखिएको सेनिटाइजर सहितको खुट्टाले धारा खोल्न मिल्ने टेंकीको पानीले हात धोएर सामग्री प्रयोगको सुरुवात गरिएको थियो । सुनसरी जिल्ला अदालतका एक नम्वर न्यायाधीश कोइराला र नगर प्रमुख मेहताले हात धोएर सेवा सुरुवात गर्नु भएको थियो ।

नगरपालिकाले अदालतमा सेवा लिन पुग्ने सेवाग्राही सहितको सुविधाकालागि २ वटा हातधुने टेंकीको व्यवस्था मिलाएको छ । त्यसका अलावा उसले सेनिटाइजर राख्ने स्टेण्ड सहित हात सफा गर्ने प्रवन्ध समेत मिलाएको छ । आवश्यक सेनिटाइजर सहित कोरोना रोकथाममा प्रयोग हुने सामग्री समेत नगरपालिकाले अदालतलाई हस्तान्तरण गरेको छ ।उपलब्ध गराइएका सामग्री बुझ्दै सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश कोइरालाले नगरपालिकाको सहयोग सेवाग्राही लगायत अदालत पुग्ने जोकोहीका लागि लाभदायक हुने बताउनु भयो ।

कोइरालाले कोरोना महामारी बाट बच्न स्थानीय तहको तदारुकता मात्रैले नपुग्ने भन्दै सबैको साथ र सहयोगको अपरिहार्यता औल्याउनु भयो । सबै स्वयं सचेत र सजक रहन सके कोरोनालाई परास्त गर्न सकिने वहाँको तर्क थियो ।सामग्री हस्तान्तरण पश्चात बोल्दै नगर प्रमुख मेहताले निरन्तर साथ र सहयोगकालागि आफु सदैव कटिवद्ध रहेको बताउनु भयो । नगरवासीको सुरक्षा र सचेतना लगायतको पाटोमा इनरुवा नगरपालिकाको कार्यालय लक डाउनका बिच समेत खटिरहेको मेहताको भनाई थियो ।सामग्री हस्तान्तरण कार्यक्रममा न्यायाधीशहरु धर्मराज पौडेल, इन्द्रबहादुर चोङ्गटेन्ली, शंकर बहादुर राई, प्रकाश श्रेष्ठ, खिमानन्द भुषाल, धुव्रकुमार उप्रेती र मणिराम न्यौपाने सहितको उपस्थिती रहेको थियो । अदालतमा उपलब्ध गराइएका सामग्री संयोजनको काम भने अधिवक्ता रमेश पोखरेलले मिलाएका थिए ।



तपाईको प्रतिक्रिया