काठमाडौं । विदेशबाट यात्रु ल्याएपछि हामी सोल्टी होटलको क्वारेन्टाइनमा बसेका थियौं । पीसीआर गर्दा नौ जनालाई पोजिटिभ देखियो । २३ गते २ बजेतिर हामीलाई एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगियो । महिला र पुरुष राख्ने भवन फरक–फरक रहेछ । एम्बुलेन्सबाट परै झारेर कोठामा पठाइयो । तर, कोठा र उपचारका बारेमा जानकारी दिन कोही आएनन् ।काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा संक्रमितका घरबाट पठाइएका सामान जथाभावी फालिएको अवस्थामा र अस्पतालमा पानी तताउनका लागि राखिएको भाँडो जुन कैयन् दिनदेखि सफा गरिएको छैन ।

कोरोना संक्रमित भएको थाहा पाएदेखि हामी सबै तनावमा थियौं । कोठामा पुगेपछि त खङ्ग्रङ्गै भयौं । त्यहाँको दृश्य देखेर अत्यास लाग्यो, सास फेर्नै गाह्रो भयो । कोरोना निको भए पनि अरू रोगले समाउला भन्ने डर लाग्यो । त्यहाँको भिडियो र तस्बिरहरू खिचेर आफन्त र साथीहरूलाई पठायौं । त्यहाँ एक रात एक दिन बिताउँदा एक वर्ष बसेजस्तै लाग्यो । २४ गते राति १० बजे हामी त्यहाँबाट बाहिरियौं । अहिले धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत छौं ।एपीएफ अस्पतालमा ट्वाइलेट प्रयोग गर्न नसकिने अवस्थाको थियो । खाना त कुकुरलाई जसरी दिइन्थ्यो । माइकिङ गरेर बाटोमा खाना छाडिन्थ्यो । कुकुरलाई पनि यसरी दिइँदैन । माइकिङ गर्दा भनिन्थ्यो, ‘तपाईंहरूको खाना बाहिर बाटोमा छ । लिन आउनुस् । नत्र कुकुरले खाइदिन्छ ।’ पटक–पटक यस्तो कुरा सुन्दा मन खिन्न हुन्थ्यो ।

कोरोना लाग्यो भनेपछि समाजले हेर्ने साँघुरो दृष्टिकोण त छँदै छ, आइसोलेसनमा बस्दा हुने व्यवहारले झन् डिप्रेसनमै पुर्‍याउने रहेछ । यसअघि बसेकाहरूले यस्तो व्यवहारप्रति किन कम्प्लेन नगरेका होलान् ? त्यहाँको व्यवहारले कुनै पनि एंगलमा संक्रमितको मनोबल उच्च हुँदैन, सजाय दिन राखेजस्तो लाग्छ । २४ घण्टाभन्दा बढी अस्पताल बस्दा हाम्रो स्वास्थ्य अवस्थाबारे बुझ्न कोही आएनन् । कोठामा थुन्ने हो भने किन त्यहाँ लैजानु ? घरमै राखे भइहाल्यो नि ! संक्रमितलाई गर्ने व्यवहार र बोलीको त कुरै नगरौं । संघीय सरकारले व्यवस्थापन गरेको काठमाडौंकै आइसोलेसनको हालत त त्यस्तो छ भने गाउँका आइसोलेसनहरूको अवस्था के होला ? संक्रमित त्यत्तिकै भागेका र सुसाइड गरेका होइन रहेछन् ।

आइसोलेसनमा राखेको २४ घण्टासम्म सोधपुछ गर्न कोही आएनन् । उपचार कसरी हुन्छ, जानकारी दिइँदैन । छिनछिनमा दुर्व्यवहार मात्रै सहनुपर्छ । कुकुरलाई जस्तो बाटोमै खाना छाडिन्छ, जुन खाना खाएर इम्युनिटी पावर बढाउनुपर्ने हुन्छ । बारम्बार स्वास्थ्य परीक्षण हुने र आफ्नो स्वास्थ्यको अपडेट थाहा हुने हो भने मानसिक रूपमा पनि आफू स्वस्थ भएको थाहा पाइन्छ । अनि पो मनोबल उच्च हुन्छ तर एपीएफ अस्पतालमा यो कुनै पनि सुविधा छैन ।

यतिसम्म कि एउटा भवनमा एउटा मात्रै पानीको जार राखिँदो रहेछ । त्यो घरमा संक्रमित भनेर राखिएका सबैले त्यही जारको पानी सारेर खानुपर्ने । पानी सार्नका लागि अरूले प्रयोग गरिसकेको एउटा बोतल हरेक संक्रमित जानेबित्तिकै बाटोमै राखिदिएका हुन्छन् । त्यही बोतलमा पानी सारेर खानुपर्ने । हामीले त भोलिपल्टसम्म पानी पनि खाएनौं ।

ओढ्ने कालो कम्बल, तन्ना र सिल तोडिएको मास्क बाटोमै राखिएको थियो । एउटा फ्ल्याटमा बस्नेका लागि पानी तताउने भाँडो थियो, जुन निकै दिनदेखि सफा गरिएको थिएन । यो त भयो अस्पताल जाँदा हामीलाई दिइएका सामानको कुरा । त्यहाँ बस्दा हुने दुर्व्यवहार त बयान गरिसाध्य छैन । बाहिर निस्कँदा भित्र जानुपर्‍यो र केही सामान तल झार्नुपर्‍यो भने सातै उड्ने गरी थर्काउँछन् । अस्पताल पुग्ने संक्रमितले मीठो–मसिनो व्यवहारको अनुभव गर्नै पाउँदैनन् ।

यो सबै कुरा सहन नसकेर हामी ९ जना २४ गते राति नै ह्याम्स अस्पताल आयौं । हामी कसैलाई पनि कोरोनाको लक्षण छैन । यहाँ आएपछि स्वास्थ्यकर्मीले राम्रो व्यवहार गरेका छन् । दिनमा तीनपटक ज्वरो र प्रेसर जाँच्छन् । केही समस्या छ कि भनेर सोध्छन् । पीपीई लगाएर हाम्रो छेउमै आएर बोल्छन् ।

यसको उल्टो एपीएफ अस्पतालमा एक किलोमिटर टाढा बसेर माइकिङ गरेर थर्काउँथे । छेउमा त के, कोठामा समेत कोही फर्केर आएनन् । ह्याम्स आएपछि चाहिँ कोरोना निको हुन्छ, अरू रोग पनि सर्दैन भन्ने विश्वास पलाएको छ । अब केही हुन्न भनेर ढुक्क भएका छौं । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।



तपाईको प्रतिक्रिया