- अमर काफ्ले

सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । निरन्तर बढ्दो जलस्तर सँगै कोशीको बहाव २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ । ब्यारेजका ३८ वटा ढोका खोलिएका छन् ।

बिहान २ लाख ७५ हजार क्युसेक पुगेको बहाव यतिबेला भने घटेको छ । ३८ वटै ढोका खोलिएपनि पानीको बहाव २ लाख ६१ हजार ३ सय १५ क्यूसेकमा झरेको कोशी ब्यारेज कन्ट्रोल कक्षले जनाएको छ ।ब्यारेज कन्ट्रोल रुमका अनुसार नदीको जलस्तर घटबढ हुने क्रममा छ । पूर्वी पहाडी भेगमा अविरल वर्षा भएकाले समेत नदीको जलस्तर अझै बढ्ने सक्ने उसको अनुमान छ ।पहाडी भेगमा परेको पानीसँगै अन्य नदीबाट मिसिएर सप्तकोशीमा आउने भेल एकत्रित हुन समय लाग्ने भएकाले समेत कोशीको जलस्तर बढ्ने अनुमान गरिएको छ ।

यद्यपी नदीको पानी कोशी ब्यारेज भन्दा पहिला चतरामा मापन हुने गर्छ । चतरामा बिहानको तुलनामा पानीको बहाव भने केही घटेको छ । बिहान ५ दशमलव ८८ मिटर तहमा रहेको पानी यतिबेला भने ५ दशमलव ५८ मिटरमा झरेको छ ।बाढी मापन केन्द्र चतराले पानी मापन हुने मिटर तहमा हेरफेर भएको जनाएको छ । नयाँ मापन प्रणाली अनुसार पानीको तह ६ मिटर पुगे त्यसलाई सर्तकता लेवल मान्न थालिएको छ । उसले ७ मिटर तहको पानीलाई खतरा मानिने बताएको छ । यसअघि ५ दशमलव ६० मिटर तहलाई सर्तकता लेवल र ६ दशमलव ८० मिटर तहलाई खतरा मान्ने गरिएको थियो ।



तपाईको प्रतिक्रिया