आज बिहिबार नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेका छन् । बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए । यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको मन्त्रालयकाे भनाइ छ ।




तपाईको प्रतिक्रिया