- अमर काफ्ले

सुनसरीको देवानगञ्ज गाउँपालिकामा तस्कर र प्रहरी बिच दोहोरो गोली हानाहान भएको छ । भारतीय सिमावर्ती क्षेत्र देवानगञ्जको वडा नम्बर ३ मा प्रहरीको सर्च अप्रेसनको क्रममा तस्कर समूह र प्रहरी बिच गोली हानाहान भएको हो । दुवै तर्फबाट १२ राउण्ड गोली चलेको छ ।

तस्कर समूहले गोली चलाएपछि जवाफी फायरिङ गर्नु परेको सुनसरी प्रहरीले जनाएको छ ।चोरी, तस्करी र लागुऔषध कारोबारीको सूचनाका आधारमा अप्रेसन चलाएको प्रहरीले भारत तर्फबाट नेपाल आउँदै गरेका व्यक्तिहरुलाई रोकी चेकजाँचको क्रममा दोहोरो गोली हानाहान भएको प्रहरी प्रमुख कमल थापाको भनाई छ ।थापाले भने, “सर्चको क्रममा तस्कर समूहले प्रहरीकै हतियार खोस्ने प्रयास गर्दै एकाएक फायर खोल्यो । त्यसपछि प्रहरीले जवाफी कार्वाही गरेको हो । सो क्रममा प्रहरीको गोली लागि दुई हतियारधारी घाइते भएका छन् । ”
खुट्टामा गोली लागेका देवानगञ्जका पिन्टु यादव र राजेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।अन्य व्यक्ति भने गोली फायर गर्दै भारत तर्फ भागेकाले उनीहरुको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ । भागेका व्यक्तिहरु घाइते भएको हुन सक्ने अनुमानका आधारमा थप सर्च अभियान थालिएको प्रहरीको भनाई छ ।प्रहरीले तस्कर समूहको साथबाट एउटा पेस्तोल सहित ६ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ । त्यसैगरी भारतीय सहित दुई मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया