- अमर काफ्ले

भारतसँग सीमा जोडिएको सुनसरीको घुस्की नाकामा तनाव बढ्न सक्ने देखिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।रातीको समयमा सशस्त्र र तस्कर समूह बिच भएको झडपको क्रममा गोलि लागेका व्यक्तिका आफन्त र स्थानीय आन्दोलित बनेपछि सो क्षेत्रको अवस्था आज बिहानैबाट तनावपूर्ण देखिएको छ ।

पेटमा गोली लागेका स्थानीय घुस्की ७ का २० वर्षिय सवाद भनिने सहजद जट अन्सारीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ ।बोर्डरमा घर भएका घाइते जटका नेपाल तर्फका मात्र नभएर भारतीय भूमी तर्फ बसोबास गर्दै आएका आफन्त र स्थानीयवासी सशस्त्र प्रहरी विरुद्धको आन्दोलनमा सरिक भएका छन् ।सडकमा टायर बालेर प्रर्दशन समेत गरेका उनीहरुले सुरक्षाकर्मीले जानीजानी गोली हानेको भन्दै कार्वाहीको माग समेत गरिरहेका छन् ।

स्थानीयको आक्रोस र बोर्डरमा हुन सक्ने सम्भावित तनावको अवस्थालाई मध्यनजर गर्दै सो स्थानमा नेपाल प्रहरी सहित सशस्त्रको उपस्थिति बाक्लो बनाइएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिनुभयो । सम्भावित झडप हुन नदिन हरसम्भव प्रयास जारी रहेको एसपी ढकालले बताउनु भयो ।आक्रोसित अवस्थामा रहेका जट समुदायलाई सम्झाउने प्रयास भैरहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनु भएको छ । घटना बारे विस्तृत छानविन हुने बताउनु भएका अन्सारीले घाइतेका आफन्तलाई अवस्था बुझ्न अस्पताल पठाइएको बताउनु भयो ।

बोर्डर क्षेत्रमा रहेका स्थानीय पत्रकार नसिम अन्सारीका अनुसार सो क्षेत्रको अवस्था निकैनै तनावपूर्ण रहेको छ । बिहानै देखि प्रर्दशन र बिरोध भैरहेको छ । घरेलु हतियार सहित स्थानीय सडकमा देखिएका छन् । एकातर्फ सुरक्षाकर्मी र अर्कोतर्फ आन्दोेलित पक्ष आमुन्ने सामुन्ने अवस्थामा बसेका छन् ।सुरक्षाकर्मीले संयमता अपनाई रहेको छ भने जट समुदाय समेत केही शान्त देखिएको छ । अन्सारीका अनुसार गोली लागेका घाइतेको अवस्था बुझेर आफन्त फर्किएपछि मात्र त्यसपछि के हुने हो भन्ने विषय टुङगो लाग्न सक्छ । घाइतेको अवस्था जटिल भएको खण्डमा त्यस पछिको अवस्था यसै होला भनेर यकिन साथ अहिलेनै भन्न सक्ने अवस्था भने नरहेको पत्रकार अन्सारीको बुझाई छ ।

गयराती भारतीय सिमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा बोर्डर ड्युटीमा खटिएका सुरक्षाकर्मी माथि आक्रमण भएको थियो । सो क्रममा एक सशस्त्र जवानको टाउकोमा चोट लागेको थियो ।सशस्त्रले सामान चेकजाँच गर्ने विषयलाई लिएर आफुहरुमाथि तस्कर समूहले एक्कासी आक्रमण गरी ढुङगामुढा गरेको बताउँदै आएको छ । ड्युटीमा सीमित संख्यामा सशस्त्रको उपस्थितीका बिच १०,१२ जनाको समूहले आक्रमण गरेको ४ नम्बर गणले जनाएको छ ।

सो क्रममा हतियार खोसेर लैजाने प्रयत्न गरिदा लोड भएको बन्दुक पड्किएको उसले भनाई छ ।आन्दोलित पक्षले सशस्त्रले जानीजानी गोली हानेको बताउँदै गर्दा केहीले भने हातपात र कुटाकुट पछि घाइते सुरक्षाकर्मीलाई घिसारेर हतियार खोस्ने प्रयन्त गरिएपछि सुरक्षार्थ अर्का सशस्त्र प्रहरीले गोली चलाएको बताएका छन् । घाइतेको अवस्था बुझ्न सुरक्षा निकायको टोली समेत बिपी प्रतिष्ठान तर्फ लागेको छ ।




तपाईको प्रतिक्रिया