काठमाडौं । नेकपामा देखिएको संकट निवारण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार सघन छलफल भएको छ । सहमतिको मिलनबिन्दु खोज्न अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा बढी छलफल भए पनि ठोस निकास भने निस्कन सकेको छैन । दुई अध्यक्षबीच सहमति खोज्ने उद्देश्यले सोमबार पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकार पनि सँगै थिए ।

दुई अध्यक्षबीचको सहमतिबाटै समस्या समाधान हुने भएकाले अध्यक्षद्वयबीचको वार्ता र संवादलाई निरन्तरता दिइने निर्णय भएको नेताहरूले बताएका छन् । सोही निर्णयअनुसार दुई अध्यक्षले सोमबार पनि सघन छलफल गरी सहमतिको वातावरण बनाउने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच विगत केही दिनदेखि निरन्तर छलफल हुँदै आइरहेको छ । शनिबारको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल भएको थियो । सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव ओलीले गरेपछि दाहालले मौन समर्थन गरेका थिए । महाधिवेशनसँगै सबै विवादको समाधान गर्ने सहमति भएको विश्वास गरिए पनि आइतबार दाहालले मंसिरमा महाधिवेशन गर्ने बारेमा आफ्नो समर्थन नरहेको जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच नै सहमति हुन नसक्दा नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । आइतबार बस्ने भनिएको बैठक अध्यक्षद्वयबीच सहमति नभएका कारण स्थगित भएको थियो । अर्को बैठक मंगलबार बोलाइएको छ ।अध्यक्ष दाहालले मंसिरमा एकता महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समर्थन नरहेको स्पष्टीकरण दिएका छन् । दाहाल निवास खुमलटारमा आइतबार नेकपा सचिवालय र केही स्थायी कमिटी सदस्यहरूलाई ब्रिफिङ गर्दै दाहालले शनिबारको राजनीतिक घटनाक्रमका साथै महाधिवेशन प्रस्तावबारे प्रस्ट पार्दै प्रधानमन्त्री ओलीसँग कुनै सहमतिसमेत नगरेको बताए ।

शनिबार नेकपाको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा दाहालको समेत समर्थन रहेको भन्दै बैठकमै केही नेताले असहमति जनाएका थिए ।शनिबारको बैठकमा दाहालले ओलीको प्रस्तावमा समर्थन गरे जस्तो गर्दै बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएपछि नेपाल, खनाललगायतका नेताहरू अध्यक्षद्वय मिलेको भन्दै सशंकित भएका थिए । आइतबारको खुमलटार बैठकमा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा भने अनुपस्थित थिए । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।



तपाईको प्रतिक्रिया