सुनसरी प्रहरीले नेपालमा प्रतिवन्धित रहेको क्याट फिस भनिने मागुर जातको ७ हजार ५ सय १० किलो माछा नष्ट गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा सडक खण्डबाट भारतीय ट्रक नियन्त्रणमा लिएको प्रहरीले सो ट्रकमा लोड गरि ल्याइएको माछा पत्रकार सम्मेलन गरी नष्ट गरेको हो ।

बिराटनगरको एस.जी.आई.एग्रो प्रालिले भारतको कलकत्ताबाट रानी नाका हुँदै नेपाल भित्र्याएको उक्त माछा नेपालमा प्रतिवन्धित रहेकाले चालक सहित ट्रक नियन्त्रणमा लिई माछा नष्ट गरिएको सुनसरी प्रहरीले जनाएको छ ।पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले एस.जी.आई. एग्रो प्रालिका नाममा जारी गरेको प्रमाणपत्रमा भारतबाट व्यापार प्रयोजनकालागि नेपाल ल्याइएको खाने माछा बन्दिपुर सिरहा सम्म लैजाने उल्लेख छ । उक्त प्रमाणपत्रमा ५ हजार ८ सय २० किलो माछा आवश्यक चेकजाँच गरी खान योग्य भनी क्वारेन्टाइन प्रमाण पत्र दिइएको व्यहोरा लेखिएको छ ।क्वारेन्टाइनले दिएको प्रमाणपत्रमा ५८ सय २० किलो तोकिए पनि चेकजाँचको क्रममा भने माछा मात्रैको वजन ७५ सय १० किलो रहेको पाइएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।श्रावण २ गते नियन्त्रणमा लिएको माछा आवश्यक प्रकृया र जाँच पुरा गरी आज पत्रकार सम्मेलनको आयोजना गरी सुनसरी प्रहरीले नष्ट गरेको हो । करिव २० लाख बजार मूल्य बराबरको उक्त माछा प्रहरीले कार्यालय हातामा खाल्डो खनी पुरेको छ ।सुनसरी प्रहरीका अनुसार एग्रो प्रालिले बिराटनगरबाट भन्सार प्रज्ञापन पत्र सहित आवश्यक बिल र इजाजत लिएको देखिएको छ । खान योग्य माछा भनेर कागजात बनाई भारतबाट बिराटनगर नाका हुँदै माछा भित्र्याइएको पाइएको प्रहरीको भनाई छ । प्रहरीले शंका लागि चेकजाँचको क्रममा प्रतिवन्धित रहेको फेला परेपछि माछा नष्ट गरिएको जनाएको छ । उक्त माछा सोर्नाली एक्स्पोट कलकत्ता भारतबाट नेपाल ल्याईएको बरामद कागजातमा देखिन्छ ।

प्रहरी प्रमुख कमल थापाका अनुसार मत्स्य ब्यापारी तथा सम्वन्धित विशेषज्ञका साथै पशुपंछी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नम्बर १ र पशु क्वारेन्टाइन कार्यालय भाण्टावारीसँग समन्वय र आवश्यक नियम कानुन बारेको अध्ययन पश्चात माछा नष्ट गरिएको हो ।प्रहरी प्रमुख थापाले भने, पशु स्वास्थ्य तथा सेवा नियमावली २०५६ को नियम १७ बमोजिम माछा भुरा बारे मापदण्ड निर्धारण र २०६१ (पशु सेवा बिभागको निति २०६१।५।२५ को निर्णयानुसार नेपालमा क्याट फिस भनेर चिनिने मागुर जातीको माछा पैठारी तथा निकासी, ओसार पसार र बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । सोही अनुरुप मानव स्वास्थ्यका लागि हानिकारक समेत रहेको सो माछा नियन्त्रणमा लिई प्रमुख जिल्ला अधिकारीको रोहवरमा नष्ट गरिएको हो ।प्रहरीले WB 25 J 6141 नम्बरको ट्रक सहित ट्रक चालक पश्चिम बंगालका २४ वर्षिय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिएको छ । अन्य आवश्यक छानविन र कानुनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रतिवन्धित उक्त माछा लामो समय देखि भन्सार छली भारतबाट नेपालमा आयात गरी बिक्रि वितरण भैरहेको बुझिन आएको छ । सो तर्फ विशेष निगरानी थालिएको उसको भनाई छ ।प्रहरी प्रमुख थापाका अनुसार मानव स्वास्थ्यकालागि हानिकारक मानिएको र प्रतिवन्ध लगाइएको माछा भन्सार हुँदै आवश्यक सबै कागजात सहित भित्रिनु गम्भिर विषय हो । जसतर्फ विशेष निगरानी र छानविन जरुरी छ । उच्च तवरबाटै निष्पक्ष छानविन गरिनु पर्ने माग गरेको सुनसरी प्रहरीले प्रतिवन्धित माछाको बजार निकै ठुलो रहेको पाइएकाले सो तर्फ सबैको ध्यान जानु जरुरी रहेको उसको भनाई छ ।

पत्रकार सम्मेलनमा उपस्थित सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले समेत बरामद गरी सार्वजनिक गरि नष्ट गरिएको माछा प्रतिवन्धित रहेको पाइएको बताए । उनले सो विषयमा पशु बिराटनगर क्वारेन्टाइन र भन्सार कार्यालय जिम्मेबार हुने भएकाले छानविनको प्रकृया अघि बढाउन माथिल्लो निकायमा जानकारी गराउने बताए । प्रहरी स्रोतले दिएको जानकारी अनुसार ट्रक सहित नियन्त्रणमा लिइएको माछा छुटाउन जिप्रका सुनसरीले निकै दबाबको सामना गर्नु परेको थियो । पशु क्वारेन्टाइन बिराटनगरले खान योग्य प्रमाणित गरेको माछा प्रहरीको फन्दामा परेपछि सुनसरी प्रहरीले क्वारेन्टाइन भाण्टाबारीसँग समन्वय गरेको थियो । भाण्टाबारीले प्रतिवन्धित माछा भन्दै नष्ट गर्न प्रहरीलाई सिफारिस गरेको थियो ।
प्रतिवन्धित माछाको विषय सार्वजनिक भएसँगै सम्वन्धित कार्यालयले सहजै इजाजत दिएको लगायतका विषय बाहिरिएपछि पत्रकार सम्मेलन नगरी माछा नष्ट गर्न समेत प्रहरीलाई दबाब परेको बुझिन आएको छ । यद्यपी सुनसरी प्रहरीले भने लक डाउनको बाबजुत भित्रिएको मानव स्वास्थ्य हीत विपरितको प्रतिवन्धित माछा आयात हुनु गम्भिर विषय भएको भन्दै सार्वजनिक गरेको थियो ।प्रहरी प्रमुखका कमल थापाले जिम्मेवारी सम्हालेयता सुनसरी प्रहरीले एकपछि अर्का सफलता हात पार्दै गएको छ । लागुऔषध कारोबार निस्तेज पार्ने देखि नेटवर्क चिर्ने र तस्करी नियन्त्रण जस्ता विषयमा सुनसरी प्रहरी पछिल्लो केही सातायता उल्लेखनीय सफलता हात पार्न सफल देखिदै आएको छ ।



तपाईको प्रतिक्रिया