काठमाडौं । नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो । सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो ।

कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर प्रदेश २ मा भारतबाट निस्फिक्री भित्रिनेको संख्या उच्च छ । कोरोना संक्रमण फेरि बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले लगत्तै सुरक्षा निकायका सबै प्रमुखलाई डाकेर नाकामा निगरानी बढाउन निर्देशन दिएका हुन् । ‘नाकाबाट लुकीछिपी आउनेका कारण संक्रमण बढेको छ,’ मुख्यमन्त्री राउतले सुरक्षा अधिकारीहरूलाई भने, ‘अहिले कडा लक्षणसहितको कोरोना संक्रमण भेटिएको छ ।’ प्रदेश २ का आठ वटै जिल्ला भारतको बिहारसँग जोडिएका छन् । बिहारमा अहिले संक्रमण उच्च दरमा फैलिइरहेको छ । प्रदेश २ को भारतसँग जोडिएको ४ सय ६५ किलोमिटर खुला सीमामा सशस्त्र प्रहरीका ५५ वटा बीओपी छन् । एउटा बीओपीमातहत रहेका ४ देखि ५ वटा थप फरवार्ड बेसबाट निगरानी गरिरहे पनि पारिबाट भित्रिने क्रम रोकिएको छैन ।

प्रदेश २ का सुरक्षा अधिकारीहरू मल ल्याउने किसानको भेषमा भारतीयहरू नेपाल छिरिरहेको बताउँछन् । भारतबाट मल ल्याउँदा नदेखेझैं गरिरहेको नाकाका प्रहरीले भने सोमबारदेखि उनीहरूलाई पनि भारततिरै फर्काउन थालेको छ । ‘बोर्डरमा कडाइ गर्न भनिएको छ,’ प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यले कान्तिपुरसँग भने, ‘मल बोकेर आउनेले पन्जासमेत लगाएका हुँदैनन् । पारिबाट आउँदा मलसँगै कोरोना पनि बोकेको हुन सक्छ । सोमबारदेखि मल ल्याउनेलाई पनि रोक्न निर्देशन दिइसकेको छु ।’ डीआईजी ब्रह्मचार्यका अनुसार वर्षाको मौसम रहेकाले भारतीय नाकासँग जोडिएको सबैजसो खोलामा पानी उर्लिएको छ । खोला छेउछाउमा खटिएका सुरक्षाकर्मीलाई अहिले सुरक्षित ठाउँमा मर्ज गरिएको छ । त्यसैले खोला तरेर आउने क्रम पनि बढेको उनले बताए ।

भारतबाट पछिल्लो समय भित्रिएकाबाट सप्तरी र पर्सामा संक्रमण फेरि बढेको छ । साउनयताका १२ दिनमा प्रदेशमा सात जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पर्सा र सप्तरीका बीओपीका सबै इन्चार्जलाई नाकामा कडाइ गर्न भनिएको ब्रह्मचार्यले बताए ।

सुदूरपश्चिममा भारतबाट फर्कने नेपालीलाई बिनाजाँच होम क्वारेन्टाइनमा पठाउँदा र अवैध रूपमा आउजाउ जारी रहँदा संक्रमण फैलिने जोखिम बढेको छ । मध्य असारयता भारतबाट फर्केकालाई क्वारेन्टाइन नराखेर सिधै घर पठाउने गरिएको छ । होम क्वारेन्टाइनमा बस्न भने पनि उनीहरू सिधै समुदायमा घुलमिल भइरहँदा संक्रमण फैलिने जोखिम छ । जेठ पहिलो सातादेखि भारतमा रोकिएका नेपालीलाई फर्कन दिन नाका खुला गरिएको थियो ।

कैलालीको १ सय २ र कञ्चनपुरको १ सय २९ किलोमिटर सीमा भारतको उत्तराखण्ड र उत्तरप्रदेश राज्यसँग जोडिएको छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट फर्कने र भारतीयहरू सीमापारि जानेक्रम चलिरहेको भए पनि दुवै जिल्लाका ग्रामीण क्षेत्रका खुला नाकाबाट अवैध आउजाउले पनि संक्रमणको जोखिम बढाएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया