- अमर काफ्ले

इनरुवा। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ६३ हजार १ सय ६० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । सुनसरी प्रशासनका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३६ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबिच नदीको वहावमा उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिको सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको बताउनु भयो । वहाँले गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने काम थालिएको भयो । जसकालागि नेपाली सेना सहितको टोली सो क्षेत्रमा खटिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया