- अमर काफ्ले

इनरुवा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीको पार्टी सद्भावना भन्दा कमजोर हुने बताएकी छिन । एमाले अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी शर्मा ओलीलाई ठुटे महाराजाको संज्ञा दिदै गालीको वर्षा गरेकी झाक्रीले ओलीको पार्टीको कन्तबिजोग हुने बताएकी हुन । उनले बाटो बिराएर ओली तिर लागेकाहरुलाई बेलैमा आफ्नो पार्टीमा फर्किएर भविष्य सुनिश्चित गर्न आग्रह समेत गरिन ।

झाक्रीले ओलीकै कारण कम्युनिष्ट आन्दोलन सत्यानाश हुन पुगेको बताउँदै बकम्फुसे राष्ट्रवादको गफ छाँट्ने ओलीका दिन सकिएको बताइन । सुनसरीको इनरुवमा आयोजित पार्टीको प्रथम नगर भेलालाई सम्बोधनका क्रममा नेतृ झाक्रीले त्यस्तो बताएकी हुन । एक अर्को प्रसंगमा झाक्रीले ओलीले अहिले आएर एमसीसीको बिरोध गर्नु हास्यास्पद भएको बताइन । झाक्रीले ओलीलाई हिजोका दिनमा कन्दनी सुर्केर एमसीसी पास गराउन लागेको व्यक्ति भन्दै आज विरोधमा उत्रनु उनको दोचारे रवैया भएको बताइन । सो क्रममा उनले भीम रावललाई समेत सोही ड्याङको व्यक्ति भएको बताइन ।

सम्बोधनका क्रममा निकै नै आक्रामक देखिएकी झाक्रीले ओली र ओली प्रवृतिलाई साथ दिने नेताकै कारण कम्युनिष्ट आन्दोलनको सत्यानास हुन पुगेको दावी समेत गरिन । ओली प्रवृतिको अन्त्य हुनु आवश्यक भएकाले आफुहरु नयाँ पार्टीमा लागेको भन्दै झाक्रीले अबका दिनमा एकीकृत समाजवादी ठूलो पार्टी बनेर उदाउने उद्घोष गरिन । कार्यक्रममा ओली निकट मानिएका नेताहरु समेत सहभागि थिए । एकीकृत समाजवादी इनरुवाको प्रथम नगर अधिवेशनले विभिन्न कमिटी गठन गरेको छ । उसले तत्काल खुल्न नचाहेका व्यक्तिहरु समेत छिट्टै आफ्नो पार्टीमा आउने दावी गरेको छ ।

तपाईको प्रतिक्रिया